रङ्गेली । विराटनगर महानगरपालिकाले सञ्चलान गरेको ‘छोरी बचाउ अभियान’ सफल भएपछि अब ‘छोरी बचाउ र पढाउ’ अभियान सुरु गरेको छ ।

गत आर्थिक वर्षमा विराटनगर महानगरले पहिलो सन्तान छोरी जन्मेका अभिभावकलाई ३ हजार पुरस्कार दिएको थियो । उपप्रमुख योजना अन्तर्गतको योजना सफल भएपछि महानगरले सोही अभियान अन्तर्गत ‘छोरी बचाउ र छोरी पढाउ’ अभियान यस वर्ष सञ्चालन गर्न लागेको उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् । समाजमा छोरी माथि हुने गरेको विभेद हटाउन यस्तो कार्यक्रम सञ्चालन गरेको उनले बताइन् । छोरी जन्मने बित्तिकै खिस्रिक हुने तर छोरा जन्मेमा बढाइँ गर्ने अझै पनि समाजमा कायम रहेकाले छोरीको भ्रुण हत्या रोक्नलाई यो अभियान चलाएको उपमेयर कार्कीले बताइन् ।

दोस्रो सन्तान छोरी जन्मे उसको नाममा २५ हजार फिक्स डिपोजिट गरिदिने कार्कीले बताइन् । जम्मा भएको रकम छोरी बालिग भएपछि चलाउन पाउने छन् । त्यसका लागि १० लाख बजेटको व्यवस्था गरिएको उपमेयर कार्कीले जानकारी दिइन । आवश्यकता परेमा बजेट थप गर्न पनि सकिने उनले बताइन् । यसका लागि महानगरले केही सर्तहरू राखेको छ । जसमा आमाले २० वर्ष पुगेपछि विवाह गरेको, गर्भ रहेपछि स्वास्थ्य संस्थामा नियमित ७ पटक परीक्षण गराएको, नेपाली नागरिक हुनु पर्ने, स्वास्थ्य संस्थामा प्रसुति गराउनु पर्ने र ३५ दिनभित्र बच्चाको जन्म दर्ता भएको हुनु पर्ने उपप्रमुख कार्कीले बताइन् । पहिलो सन्तान छोरा भएकाले दोस्रो सन्तान छोरी जन्मेमा यो सुविधा लिन नपाउने कार्कीले बताइन् ।

यसैगरी विराटनगर महानगरले उपप्रमुख योजना अन्तर्गत छात्राहरूलाई सेनेटरी प्याड वितरणको तयारी गरेको उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् । महिनावारी भएको बेलामा छात्राहरू विद्यालय नआउने समस्या रहेकाले त्यसलाई रोक्न कार्यक्रम ल्याएको कार्कीले जानकारी दिइन् । महानगरका विद्यालयमा माध्यामिक तहमा अध्ययन गर्ने छात्रालाई वितरण गरिने छ । त्यसैगरी छात्रामैत्री शौचालय नभएका विद्यालयमा शौचालय बनाउने तयारीसमेत भइरहेको उनले जानकारी दिइन् । यसका लागि १० लाख बजेटसमेत व्यवस्था भइसकेको उपप्रमुख कार्कीले जानकारी दिइन् ।