तेह्रथुम । जिल्लालाई तीन वर्ष अघि नै खुल्ला दिसामूक्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म मुख्य बजारहरूमा सार्वजनिक शौचालय निर्माण भएका छैनन् । तामझामका साथ लाखौँ रुपैयाँ खर्च गरेर खुल्ला दिसामूक्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म मुख्य बजारमै सार्वजनिक शौचालय नहुँदा नागरिकलाई शौच गर्न समस्या हुने गरेकोे छ । जिल्लाको मुख्य बजार म्याङलुङ नगरपालिकाको जिरिखिम्ती बजार, फेदाप गाउँपालिकाको पोक्लाबाङ बजार, लालीगुराँस नगरपालिकाको लसुने बजार, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजार र छथर गाउँपालिकाको शुक्रबारे बजारमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकलाई समस्या भएको हो । अहिलेसम्म जिरिखिम्ती बजारमा सार्वजनिक शौचालय नबन्दा बाहिरबाट आउने मानिसलाई शौच गर्न समस्या भएको स्थानीय यादव दाहालले बताए । ‘सार्वजनिक शौचालय नहुँदा बजारमा किनमेल गर्न आउने मानिसहरू र यात्रुहरूलाई समस्या हुने गरेको छ । बजारमा शौचालय नहुँदा बजार आसपासमा दुर्गन्ध हुने गरेको छ ।’ दाहालले भने । पटक–पटक सार्वजनिक शौचालय निर्माणका लागि पहल गरे पनि बन्न नसकेपछि यहाँ आउने नागरिकलाई सास्ती हुने गरेको स्थानीय व्यापारी राधिका ढुङ्गानाले बताइन् । सार्वजनिक शौचालय बनाउन नगरपालिकालाई पटक–पटक माग गर्दा समेत पर्याप्त रकम विनियोजन नहुँदा सार्वजनिक शौचालय बनाउन नसकिएको स्थानीय प्रेम खड्काले बताए । उनका अनुसार बजारको चोकनजिकै सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नहुँदा समस्या भएको हो । यस अघि स्थानीयको पहलमा यहाँ निर्माण शुरु गरिएको सार्वजनिक शौचालयसम्म जाने बाटो निर्माणका लागि समेत बजेट अभाव भएकाले पनि निर्माण कार्य लथालिङ्गजस्तै भएको छ । जिरिखिम्ती बजारदेखि धरान, विराटनगरका लागि दैनिक आधा दर्जन साना–ठूला सवारी साधन सञ्चालन हुने गरेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको शुक्रबारे बजारमा सात वर्षअघि तेह्रथुम हङकङ सम्पर्क मञ्चले सार्वजनिक शौचालय निर्माण गरिदिए पनि प्रयोगविहीन भएको स्थानीय धर्म खड्काले बताए । ‘तेह्रथुम जन्मिएर हङकङ बस्दै आएका तेह्रथुमेलीहरूको सहयोगमा निर्माण भएको सार्वजनिक शौचालयको भवन लथालिङ्ग छ ।’ उनले भने । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको केन्द्रमा चहलपहल बढेको छ । चहलपहच बढे पनि सार्वजनिक शौचालय नहुँदा गाउँपालिकामा आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएको छ । कहीँ पनि सार्वजनिक शौचालय नबनाई जिल्लालाई खुल्ला दिसामूक्त क्षेत्र घोषणा गरिए पनि प्रभावहीन भएको धेरैको गुनासो छ । जिल्लालाई तामझामका साथ खुल्ला दिसामूक्त क्षेत्र घोषणा गरिए पनि लालीगुराँस नगरपालिकाको लसुने बजार, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजार लगायतका मुख्य बजारमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिक अझै पनि शौच गर्नका लागि जङ्गल र झाडी धाउन बाध्य छन् ।