चक्रघट्टी । सप्तकोशीको बहाव बढ्न थालेपछि वराहक्षेत्र–६ र ९ वडाको श्रीलङ्का टापुबासीको धड्कन बढ्न थाल्छ । दैनिक उनीहरूले गुजारा गर्न सप्तकोशीको भङ्गालो काट्नै पर्छ । सातसय घरपरिवारको दैनिक रोजीरोटी नै यसरी नै चल्छ । दैनिक उपभोग्य सामग्रीदेखि दैनिक काम गर्न भङ्गालो कटेर नै आउ–जाउ गर्नु पर्छ । तर कोशीको बहावले उनीहरूमा पीडा भरिदिन्छ । दैनिक उपभोग्य वस्तु, औषधोपचार ठप्प झैं हुन्छ । यो दैनिकी यो वर्षमात्रै हैन, हरेक वर्ष श्रीलङ्का टापुबासीले भोगिरहेका छन् । सप्तकोशी नदीको बीच भागमा श्रीलङ्का टापु पर्दछ । २०२२ देखि २०४४ सालसम्ममा भएको कोशी कटानबाट पीडितहरूमध्ये ७ सय घरपरिवार अहिले पनि टापुमै आश्रित छन् । उनीहरुको जग्गामा कोशी नदी कुदिरहेको छ । वर्षाको समयमा राजाबास, प्रकाशपुर, रामपुर पुग्नुपर्ने अवस्था छ । सरकारी कामकाजको लागि त चक्रघट्टी पुग्नुपर्ने हुन्छ । वर्षामा पानीको बहाव बढेपछि डुङ्गा सञ्चालन ठप्प हुँदा उनीहरुको दैनिकी पनि ठप्प हुन्छ । त्यसबाहेक ४ किलोमिटर हिँडेर रामपुरबाट २० किलोमिटरको यात्रा तय गर्नुपर्ने बाध्यता रहेको स्थानीय बलबहादुर राई बताउँछन् । वर्षाका कारण अति आवश्यकीय वस्तुहरु जोहो गर्न समस्या पर्ने गरेको स्थानीय बुकुनी तामाङ बताउँछिन् । श्रीलङ्का टापु नजिकै पर्ने बजार रामपुर हो तर रामपुर पुग्न पनि त्यति सहज छैन । बेलका नगरपालिका र वराहक्षेत्र नगरपालिकाको सिमानामा दुवै नगरपालिकाले मिलेर पक्की पुल त निर्माण गरेका छन् तर पक्की पुल प्रयोगविहीन छ । पुलको केही भागबाहेक अन्य भागमा पानीले ढाकिने गरेका कारण रामपुर पुग्न पनि समस्या हुने गरेको स्थानीय सीताराम माझी बताउँछन् । गतवर्ष पनि वर्षामा कोशी कटानले ५ वटा घर बगायो । यो पल्ट पनि कटान गरिरहेको छ । २०४० सालमा राति आएको बाढीले घर, चौपाया, खाद्यान्नलगायतका सामग्री बगाएको अहिले पनि झल्झली याद आउने गरेको स्थानीय चन्द्र कविरथ बताउँछन् । सामान्य उपचारका लागि इकाई स्वास्थ्य चौकी भए पनि भरपर्दो छैन । वर्षामा डुङ्गा सञ्चालन नहुँदा आकस्मिक अवस्थामा गाउँलेहरूले जोखिम मोलेरै डुङ्गा सञ्चालन गर्ने गरेको बुद्धि राई बताउँछन् ।