इटहरी । बाढी पीडितको रकम आफन्तको नाममा जनप्रतिनिधिहरूले नै कुम्ल्याएको स्थानीयको आरोप छ । गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको क्षेत्रका लागि आएको बाढीपीडितको रकम जनप्रतिनिधिले नक्कली बाढीपडित बनाई रकम कुम्ल्याएको पाइएको हो । जनप्रतिनिधिले आफन्तलाई नै नक्कली बाढीपीडित बनाई रकम कुम्ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा मङ्गलबार उजुरी परेको छ । बाढीपीडितको नाममा आएको राहत रकम अध्यक्ष र सदस्यहरूले आफन्तको नाममा रकम लिएको पीडितको गुनासो छ । नक्कली बाढीपीडित खडा गरेर दुहबी नगरपालिका–११ का वडाध्यक्ष आशाराम चौधरीले आफ्नै श्रीमती लहनीदेवी चौधरी र भतिजा सुवास चौधरीको नाममा रकम लिएका हुन् । त्यस्तै वडासदस्य शङ्करलाल थारूले श्रीमती आशाकुमारी खाँ र भाइ बङ्करलाल खाँको नाममा रकम लिएका छन् । अर्का सदस्य पवनीदेवी पासवानले आफ्नै श्रीमान् लखन पासवानको नाममा २५ हजारको दरले रकम लिएको पाइएको हो । वडाध्यक्ष चौधरीले फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए । हाल उनको पार्टी नेपाली काङ्ग्रेसमा सम्मिलित भइसकेको छ । त्यस्तै वडासदस्य अञ्जिराकुमारी साहले आफ्नै श्रीमान् युगेशर साह र अर्का वडासदस्य सुवेन्द्रकुमार उराँवले आफ्नै श्रीमती रामवतीकुमारी उराँवको नाममा २५ हजारको दरले रकम लिएको खुलासा भएको छ । आफन्तकै नाममा गैरबाढीपीडितलाई राहत दिएको भन्दै अख्तियारमा स्थानीयले उजुरी दिएको आयोगका इटहरी प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । वडाध्यक्षले आफ्नै मान्छेलाई नक्कली बाढीपीडित खडा गरेर रकम दिनु गलत भएको नेपाली काङ्ग्रेस दुहबी–११ का वडासभापति शिवनारायण चौधरीले बताए । वास्तविक बाढीपीडितहरुले रकम नपाइरहेका बेला वडाका निर्वाचित जनप्रतिनिधिहरूले यस्तो बदनियतपूर्वक काम गर्नुले पार्टीमाथि नै प्रश्न उठ्ने बताए । यसमा आफन्तवाद हावी भइरहेको उनको आरोप छ । २०७५ साल असार १९ गते बसेको बैठकले बाढीपीडितलाई राहत दिने निर्णय गर्दै रकम वितरण गरेको थियो । उक्त रकम अनियमित तरिकाले वितरण भएको स्थानीय अगुवाको आरोप छ । ‘सर्वसाधारणको पैसामा वडाध्यक्षको मनपरी कहिलेसम्म ?’ –उनको प्रश्न थियो । दुहबीका स्थानीय एमाले नेता शिवनारायण माझीले गाउँमा जनप्रतिनिधिहरूको मनपरी बढेको कारण अख्तियारमा उजुरी हालेको बताए । उनले भने, ‘जनप्रतिनिधिहरूको मनपरीतन्त्र बन्द हुनुपर्छ ।’ त्यस्तै स्थानीय अगुवा खगेन्द्र चौधरीले पनि जनप्रतिनिधिहरूकै मिलेमतोमा अनियमितता हुनु आश्चर्यजनक रहेको बताए । स्थानीय अशोककुमार माझी, बद्रीनारायण विश्वासलगायतका स्थानीय यतिबेला बाढीपीडितको रकममा अनियमितता गरेको भन्दै सम्बन्धित निकायमा धाउन थालेका छन् । बाढीपीडितको रकम आफूहरूले आफन्तको नाममा लिनु गल्ती भएको दुहबी–११ का कार्यवाहक वडाध्यक्ष शङ्करलाल थारुले स्वीकार गरे । उनले भने, ‘मैले श्रीमती आशाकुमारीको नाममा रकम लिएकै हो, ठूलो गल्ती भएछ ।’ उनले आफूले मात्रै नभई अन्य जनप्रतिनिधिका आफन्तले पनि रकम लिएको स्वीकारे । ‘गाउँमा त्यतिबेला पानी पसेको थियो तर क्षति भएको थिएन, हामीले गल्ती ग¥यौं’ उनले भने, ‘म कार्यालयमा छु, धेरै कुरा के गर्नु ? हाम्रो गल्ती भएकै हो ।’ उनले पैसा फिर्ता गर्ने विषयमा भने कुनै प्रतिक्रिया दिएनन् ।