पानवारी । अनेरास्ववियु र अखिल क्रान्तिकारी धरानले बलात्कारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । धारन–५ साउनेका झमब बस्नेतले हाडनाता करणी गरी फरार भएको भन्दै आरोपीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अखिल क्रान्तिकारी धरानका उपाध्यक्ष घनश्याम थेवे र अनेरास्ववियु धरानका अध्यक्ष मदन बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा साउनेमा रहेको एक बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका बस्नेतले पीडितलाई डरधम्कि देखाइ पटक पटक जबरजस्ती गरेको र पीडित युवती अहिले मानसिक रुपमा विक्षिप्त भई अस्पतालमा उपचार गराइरहेको उल्लेख गरिएको छ । अनेरास्ववियु अध्यक्ष मदन बस्नेतले विभिन्न शक्तिको आडमा अपराधीलाई संरक्षण गरिएको भन्दै तत्काल पक्राउ गरी कारवाही प्रकृया अगाडी नबढे थप आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।