बिर्तामोड । पार्टीका शिर्ष नेता तथा प्रवक्ता खड्गबहादुर बि क ‘प्रकाण्ड’ पक्राउको बिरोधमा आन्दोलन शुरु गरेको ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाको तीन स्थानमा बम बिस्फोट गराएको छ ।

सो पार्टीका कार्यकर्ताले झापाको बिर्तामोड, कनकाइ र गौरादहमा बम बिस्फोट गराएका हुन् । बिर्तामोडको बसपार्कदेखि उत्तरपटी तथा कनकाइ नगरपालिकाको भवनमा र गौरादह नगरपालिका वडा नम्बर ७ को कार्यालयमा बम बिस्फोट गराएका हुन् ।

बिर्तामोडमा भएको बिस्फोटबाट कुनै भौतिक क्षति भएको छैन ।

कनकाई नगरपालिकाको भवनमा सामान्य क्षति पुगेको छ भने गौरादह ७ को वडा कार्यालयको झ्यालको सिसा फुटेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसंधानमा बन्द आहन गरेका कारण जनजिवन आतंकित बनाउन बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको झापाका एसपी भिम ढकालले बताए ।

तीनवटै घटनामा सुत्ली बम बिस्फोट गराइएको पाइएको छ । बिर्तामोड र कनकाइमा बिहानको राती तथा गौरादहमा बिहान ६ बजे बम बिस्फोट भएको थियो ।

बम बिस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले बिर्तामोडबाट दुई, दमकबाट दुई र बनियानीबाट एकजनालाई पक्राउ गरेको छ । एसपी ढकालले इलामको जनसत्ता प्रमुख तथा चुरे क्षेत्रका इन्चार्ज जितमान राई र अर्जुनधाराका एरियास्तरका नेता प्रेम चापागाँईलाई बिर्तामोडबाट फक्राउ गरेको जानकारी दिएका छन् ।

त्यसैगरी दमकबाट अखिल क्रान्तिकारी मेची ब्युरो इन्चार्ज राजु दास र असल लिम्बुलाई पक्राउ गरिएको उनले बताए । बनियानीबाट देवीप्रसाद ढुङगानालाई पक्राउ गरिएको जानकारी उनले दिए । पक्राउ परेका ५ जना नै बिप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता भएको अनुमान प्रहरीको छ ।

एसपी ढकालले पक्राउ परेकामाथि अनुसंधान शुरु गरिएको जानकारी दिए । उनले अनुसंधानपछि मात्र बिस्फोटको घटनामा संलग्न भए नभएको थाह हुने बताए ।

बन्दको झापामा आंशिक प्रभाव परेको थियो । झापामा छुटपुट बाहेक यातायात सञ्चालन भएको तथा बजार खुलेको थियो । बिद्यालय, उद्योग धन्दा कलकारखान भने बन्द भएका थिए ।