विराटनगर । मोरङको लेटाङ नगरपालिका – ९, जाँतेमा रहेको श्री माध्यमिक विद्यालयमा बिषादी मिसिएको पानी पिएर २९ जना विद्यार्थी बिरामी भएका छन् । ४ जना विद्यार्थी  सिकिस्त बिरामी भएका छन् ।

अज्ञात समूहले उक्त स्कूलको खानेपानी ट्याङ्कीमा विषादी भएको पानी मिसाएको खाँदा उक्त स्कुलमा अध्ययरत विद्यार्थीहरु आज मंगलबार बिरामी परेका हुन् ।

बिरामी भएका विद्यार्थीहरु उर्लाबारीमा रहेको मंगलबार अस्पतालमा उपचार भइरहेको स्कूलका प्रधानध्यापक खेमराज दुलाले जानकारी दिए । ‘साइपर मेथिन १०’ नामक औषधी हालिएको खानेपानी पिउँदा विद्यार्थी बिरामी परेको प्रधानाध्यापक दुलाले बताए ।

बिषादी हालेको पानी पिउँदा कक्षा २ देखि १० सम्मका  ३९ जना विद्यार्थीहरु बिरामी परेका हुन ।

सिकिस्त कक्षा ९ मा अध्यनरत खुष्बु मिश्र, कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत सिष्टी निरौला र कक्षा ५ मा अध्ययनरत मनिष थापालाई मंगलबार नै बिराटनगर स्थीत नोबेल हस्पिटलमा रेफर गरिएको मंगलबारे अस्पतालका डा.धनबहादुर श्रेष्ठले बताए । भर्ना भएको अन्य विरामीहरु सामान्य उपचार पछि सबै ४ बजे घर फर्केका डा. श्रेष्ठले बताए

बिहान ११ बजे बिद्यार्थीहरुले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकहरुलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको भित्र एक सय मिलिलिटरको साइपर मेथिन १० प्रतिशत नामक किटनाशक विषादीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए ।

साइपर मेथिन १० प्रतिशत  धानमा लगाउने विषादी हो । यो  मानिसले खाएमा सिधै दिमागमा असर र छातीमा असर गर्नाले खतरानाक हो । घटना भएपछि उपचारमा रहेको विरामीलाई भेट्न लेटाङ नगरपालिकाका मेयर शंखर राई र वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाद लुईटेल प्राथमीक स्वास्थ केन्द्र उर्लाबारी मंगलबारे  पुगेका थिए । घटनाको कडा छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने मेयर राईले बताए ।

घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो बिद्यालयमा कक्षा १ देखी १२ सम्मका चार सय ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।