दमक । यहाँस्थित मेची सहकारी संस्थाले आर्थिक वर्ष ०७४÷७५ मा ठूलो आर्थिक कारोबार गरेको देखाउँदै करिब सवा अर्बको वासलात सार्वजनिक गरेको छ । समुदायमा सञ्चालित देशभरकै उत्कृष्ट मानिने मेचीले १ अर्ब १७ करोड ८७ लाख ७ हजार ७ सय २७ को वासलात सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । यो वासलात अघिल्लो वर्षको तुलनामा ३२.९८ प्रतिशत धेरै हो । भदौ १२ गते वार्षिक साधारण सभा गर्ने मेची सहकारीले सोमबार सञ्चारकर्मीहरूसँग गत वर्ष र चालु वर्षको अनुमानित आय–व्ययसहितको वित्तीय विवरण सावर्जजनिक गरेको हो । संस्थाका व्यवस्थापक खोम प्रसाद बगालेले गत वर्षको वित्तीय विवरणमा अधिकांश सूचकहरू उल्लेखीय बढेको जानकारी दिए । उनले सार्वजनिक गरेको विवरणमा उल्लेख भएअनुसार गत वर्षको अन्त्यसम्ममा मेचीले ९९ करोड २९ लाख ९९ हजार कर्जा लगानी गरेको छ । अन्य संस्थाहरूको तुलनामा धेरै कर्जा लगानी गर्दै आएको मेचीले यो वर्ष अघिल्लो वर्षभन्दा २७.६२ प्रतिशत धेरै कर्जा लगानी हो । ५० लाखसम्म कर्जा लगानी गर्ने यो सहकारीले १० लाखभन्दा बढीको कर्जामा इञ्जिनियरबाट मूल्याङ्कन गराएरमात्र कर्जा दिने गरेको छ । ३ हजार ९९ जना सदस्य रहेको मेचीमा १२ करोड १५ लाख शेयर पुँजी छ । ४ करोड ३६ लाख जगेडा कोष अन्य कोषहरूमा रकम राखेको मेचीसँग ८३ करोड ६४ लाख वचत छ । वार्षिक कारोबारबाट ३ करोड ८ लाख खुद नाफा भएको विवरणमा उल्लेख छ । देशभरका वित्तीय क्षेत्र संस्थाहरूमा कर्जाका लागि रकम अभाव भइरहेको बेला पनि मेचीले आफ्ना शेयर सदस्यलाई ऋण सहज रूपमा उपलब्ध गराएको दावी गरेको छ । मेचीले गत वर्ष कारोबारबाट सरकारलाई १ करोड ८ लाख कर तिरेको छ । उसले आयकर ६१ लाख ६७ हजार, ब्याजकर ३६ लाख ९४ हजार, पारिश्रमिक कर २ लाख १८ हजार, लाभाङ्क कर ४ लाख ८ हजार र बैठक भत्ता ३ लाख कर बुझाएको छ । मेची जिल्लामै सरकारलाई धेरै कर बुझाउने सहकारीमध्ये एक पर्छ । चालु वर्षमा १ करोड ५ लाख कर बुझाउने अनुमान गरेको छ । सामाजिक गतिविधिअन्तर्गत मेचीले गतवर्ष शेयर सदस्यहरूलाई बिमा, कर्जा बिमा, छात्रवृत्ति, अन्त्येष्टि तथा काजक्रिया खर्च लगायतका शीर्षक १ करोड ४७ लाख ९५ हजार खर्चेको छ । मेचीले यो वर्ष आफ्नो दोस्रो ठूलो भवन बनाउने योजनासहितका नीति, कार्यक्रम र अनुमानित आय–व्ययलगायतका योजना सार्वजनिक गरेको छ । मेचीका अध्यक्ष नारायण भट्टराईले दमक–४ मा रहेको आफ्नै जग्गामा संस्थाको भवन भदौ १२ गते शिलान्यास गरिने जानकारी दिए । करिब १० करोडको लागतका निर्माण हुने भवन ५ तलाको हुने र २०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसका लागि निर्माण समिति गठन गरी चालु वर्ष २ करोड छुट्याइएको छ । संस्थाले यो वर्षदेखि आफ्नै लगानीमा हाउजिङ बनाउने पनि अघि सारेको छ । संस्थाको साधारणअन्तर्गत सोमबार प्रतिवेदन सार्वजनिक गरियो । सोमबार नै जीवन विज्ञान कार्यक्रम सञ्चालक रमेश नेपालको प्रवचन कार्यक्रम पनि गरियो ।