ताप्लेजुङ  । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका सुरेन्द्र राईका छोरा साजन राईको चार वर्षअघि करेण्ट लागेर मृत्यु भयो । सडकमा झरेको विद्युत्लाइनको तारबाट करेण्ट लाग्दा १३ वर्षीय छोरो गुमाएका सुरेन्द्रले हालसम्म क्षतिपूर्ति पाएका छैनन् । सुनसरीको साविक हाँसपोसा–२ स्थित सेउतीखोलाछेउमा खानेपानी ट्याङ्की विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोलबाट चुँडिएको तारबाट ०७१ वैशाख ३१ गते दिउँसो करेण्ट लाग्दा साजन गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिए पनि सोही दिन उनको मृत्यु भएको थियो । विद्युत् प्राधिकरण र खानेपानी कार्यालयको लापरबाहीका कारण छोराको मृत्यु भए पनि लामो समयसम्म क्षतिपूर्ति नपाएको सुरेन्द्रले गुनासो गरे । ‘प्राधिकरणले छोराको मृत्यु भएलगत्तै तत्काल क्षतिपूर्ति र किरिया खर्च उपलब्ध गराउने कागज बनाएर सही गराएको थियो’ सुरेन्द्रले भने, ‘अनिमात्रै शव बुझेर दाहसंस्कार गरेको हुँ, त्यसपछि प्राधिकरण कार्यालय जाँदा खानेपानी कार्यालय जा, खानेपानी कार्यालय जाँदा प्राधिकरण जा भनेर झन्झट दिन्छन् ।’ पटक–पटक धाउँदा नभएपछि मृतक साजनका फुपाजु धरान निवासी जीवन राईले ०७१ साउन २९ गते प्राधिकरण वितरण केन्द्र धरानमा क्षतिपूर्ति दिलाइपाऊँ भनी निवेदन दिए । भदौ ४ गते विद्युत् प्राधिकरण धरान वितरण केन्द्रले साजनको मृत्यु विद्युतीय दुर्घटनाकै कारणले भएको पुष्टि गर्दै क्षतिपूर्ति प्रदान गर्न खानेपानी संस्थान धरान कार्यालयलाई पत्र काटेको थियो । विद्युतीय दुर्घटना क्षतिपूर्ति नियमावली २०६७ को अनुसूची ३ मा कसैको विद्युतीय दुर्घटनाबाट मृत्यु भएमा पाँचलाख क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ । किरिया खर्चबापत् तत्काल १५ हजार दिने सहमति भए पनि हालसम्म नपाएको सुरेन्द्रको गुनासो छ । यता खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले उक्त फाइल प्रधान कार्यालयमा पठाइसकिएको बताए । ‘पीडितको फाइल तत्कालै खानेपानी संस्थानको प्रधान कार्यालयमा पठाइएको हो’ श्रेष्ठले भने, ‘त्यो घटना धेरैअगाडि भएकाले अरु विषयमा भने मलाई थाहा छैन ।’ क्षतिपूर्तिको विषय अब माथि (हेडक्वार्टर) ले हेर्ने भएकाले आफूहरूलाई त्यस विषयमा थाहा नहुने श्रेष्ठको भनाइ छ । ताप्लेजुङको याम्फुदिन भारतसँग सिमाना जोडिएको दुर्गम गाउँ हो । त्यहीँ मजदुरी गर्दै गुजारा चलाउने सुरेन्द्रले गाउँमा स्कुल नभएपछि छोरालाई पढाउन २०६८ सालमा धरानमा फुपू फुपाजुको घरमा पठाएका थिए । ‘आफूले त पढ्न सकिएन’ सुरेन्द्र भावुक हुँदै भन्छन्, ‘एउटा छोरालाई राम्रो पढाउने योजना थियो, त्यो पनि तुहियो ।’ छोरो अल्पायुमै गुमाएका उनी क्षतिपूर्ति पाउने आशमा धेरैपटक धरान पुगे । उनको गाउँबाट सदरमुकाम फुङ्लिङ आउन तीनदिन लाग्छ । फुङ्लिङबाट गाडी चढेर धरान पुग्न एकदिन लाग्छ । ‘आउँदा र जाँदा नै धेरै खर्च भइसक्यो’ उनी भन्छन्, ‘अब मेरो केही नलाग्ने रहेछ ।’ पछिल्लो पटक फोन गर्दा खानेपानी कार्यालयले ‘माथि केन्द्रमा जानू हामीलाई थाहा छैन’ भनेपछि मन मरेको उनको भनाइ छ । ‘अहिले आएर माथि जानू भनेका छन्’ राई भन्छन्, ‘कहाँ जाने, के गर्ने केही थाहा छैन ।’