इटहरी । इटहरी उपमहानगरपालिकाले लगाउने शनिबारे हाटमा ठेकेदारले अवैध बिल प्रयोग गरेर पैसा उठाइरहेको पाइएको छ । इटहरी–११ र १२ स्थित खनारमा लाग्दै आएको मेलामा ठेकेदारले पैसा उठाउन अवैध बिलको प्रयोग गरेको पाइएको हो । हाटबजारको कर उठाउने ठेक्का पाएको कम्पनी गौरीशङ्कर सप्लायर्सले गैरकानूनी रूपमा उठाएको हो । नियमतः ठेकेदार कम्पनीले उपमहानगरपालिकाको रसिदमा सम्झौतामा उल्लेख गरिएको रकममात्र लिन पाउने व्यवस्था हुन्छ । बजारमा सुँगुरको मासु बिक्री गर्दै आएका एक व्यापारी भन्छन्, ‘ठेकेदारले मनपरी रकम लिन्छन्, हामीमा उनीहरुलाई प्रश्न गर्ने हिम्मत नै रहँदैन, उनीहरु गुण्डागर्दीको शैलीमा आएका हुन्छन् । नगरपालिका स्रोतका अनुसार उक्त कम्पनीसँग उपमहानगरपालिकाको हाटबजार कर उठाउने बारे औपचारिक सम्झौता भइसकेको छैन । ‘यसरी सम्झौता अगावै बिना छापको रसिदमा व्यापारीबाट पैसा उठाउनु अपराध हो’–स्थानीय युवा सचिन नेपालले भने । उपमहानगरले आर्थिक वर्ष २०७५÷७६ को लागि लगाएको ठेक्कामा आरके कन्स्ट्रक्सनले ठेक्का पारेको थियो । तर आरके कन्स्ट्रक्सनले रकम बुझाउन नसकेपछि गौरीशङ्करले ठेक्का पाउने निश्चित थियो । तर ठेकेदार कम्पनीले उपमहानगरपालिकाका कर्मचारीसँग सेटिङ गरेर सम्झौता अगावै पैसा उठाउन थालेको व्यापारीको आरोप छ । गौरीशङ्करले उपमहानगरपालिकालाई पुरानो बक्यौता पनि बुझाउन बाँकी भएको रेकर्ड उपमहानगरपालिकासँग छ । ‘सार्वजनिक खरिद नियमावलीमा टेण्डर हाल्न नै कर चुक्ता प्रमाण–पत्र भएको र उपमहानगरपालिकामा बक्यौता तिरिसकेको हुनुपर्ने व्यवस्था छ । तर उपमहानगरपालिकाले सेटिङकै भरमा गौरीशङ्करलाई ठेक्का उठाउन दिएको स्पष्ट हुन्छ’–स्थानीय व्यापारी भन्छन् । बजारमा लिने करको रकम मनपरी लिइरहेको स्थानीयबासी नेकपाका युवानेता सचिन नेपालले बताए । अहिले शनिबारे बजारमा उपमहानगरपालिकाको छापै बिना व्यापारीहरुबाट पैसा उठाउँदै आएको उनको भनाइ थियो । सानो–तिनो बजारको ठेक्का लगाउँदा कर शाखाका कर्मचारीहरुको मिलोमतोका कारण ठेकेदारहरुले मनपरी गर्दै आएको उनको आरोप छ । ‘व्यापारीलाई दिएको बिल पनि अवैध छ, उपमहानगरपालिकाले यस्तो कार्य रोक्नुपर्छ’–उनले भने । उपमहानगरले खनार हाटको लागि १६ लाख ३३ हजारमा ठेक्का खुलाएको थियो । जसमा आरके कन्स्ट्रक्सनले सबैभन्दा बढी कबोल गदै २० लाख २ हजारमा ठेक्का हालेको थियो भने गौरीशङ्कर सप्लायर्सले १६ लाख ३४ हजार हालेको थियो । इटहरी उपमहानगरपालिकाका कर शाखाका प्रमुख अर्जुन सुवेदीले दिएको जानकारीअनुसार गौरीशङ्करले पनि चालु वर्षको पूरा रकम बुझाएको छैन । ‘हामीले ताकेता गरिरहेका छौं, एक–दुई दिनभित्रमा बुझाउँछन् होला’ उनले भने, ‘बिलमा उपमहानगरपालिकाको छापै बिना उठाएका रहेछन्, उनीहरुलाई म सम्झाउँछु ।’ उपमहानगरपालिकका कर्मचारी र ठेकेदारको विषयमा जनगुनासो आएको इटहरी–१२ का वडाध्यक्ष हेमानन्द दाहालले बताए । ‘उपमहानगरपालिकाले ठेक्का लगाएको रहेछ, बिलमा छापसमेत नराखी पैसा उठाइरहेको भन्दै गुनासो आइरहेको छ’ उनले भने, ‘हाटमा कस्ता पसलले कति पैसा तिर्नुपर्ने हो, त्यो सबैले देख्ने गरी सार्वजनिक स्थानमा राखिनु पर्ने हो तर यहाँ केही छैन ।’