ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डोलाई निमोनिया भएको छ । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।

उनी सोमबार अबेरसम्ममा अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ । ४१ वर्षका रोनाल्डो गएको शुक्रबारदेखि अस्पतालमा छन् । रोनाल्डोसहितको ब्राजिलियन टिमले सन् २००२ मा जर्मनीलाई हराएर विश्वकपको उपाधि उचालेको थियो । उनले ब्राजिलका लागि ६२ गोल गरेका छन् । रियल मड्रिड, बार्सिलोना, इन्टरमिलान तथा एसी मिलानका पूर्व खेलाडी रोनाल्डोले ट्वीट गरेर माया र सद्भावका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।

उनको क्यान मिसेस हस्पिटलमा उपचार भइरहेको छ । कस्तो खालको निमोनिया हो भन्ने बारे केही जानकारी दिइएको छैन । रोनाल्डोले सात वर्षअघि फुटबलबाट खेलाडीका रुपमा सन्यास लिएका थिए ।