धरान/ धरान–८ को यलम्बर सामुदायिक वनमा आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा आकर्षण थपिएको छ ।

एक वर्ष अघिबाट फिसिङ शुरु गरेको यलम्बरले शनिबारबाट ट्री हाउस निर्माण गर्दै पर्यटकलाई नयाँ आकर्षण थपेको हो । धरानको जेठो सामुदायिक वनले नयाँ-नयाँ प्रयोग गर्दै पर्यटनमा उचाइ थपेको छ । वनले पहिलोपटक २०५६ सालमा वनभोज स्थलको अवधारणा विकास गरेर नयाँ प्रयोग गरेको थियो । जतिबेला वनमा वनभोज स्पोर्टको अवधारणा नै विकास नभएको यलम्बर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबहादुर राई बताउँछन् । २०५३ सालमा किरात राई वृक्षरोपण तथा संरक्षण समिति गठन गर्दै शुरु भएको समिति नै एक वर्षपछि वन समूह बनेको संस्थापक सचिव रमेश राई बताउँछन् । नयाँ प्रयोगमा अब्बल यलम्बरले गत वर्षदेखि फिसिङको पनि व्यवस्था गरेको छ । फिसिङमा शौख हुनेहरूलाई समूहले यो सुविधा पनि प्रदान गरेका छौं, उनीहरू यहाँ आएर फिसिङ गर्न सक्छन् ।’ उनी भन्छन् ।

यहाँ रहु, ग्रासकार्प, बिग्रेड, तिलिपिया, मुङ्ग्री जातका माछाहरू उपलब्ध छन् । शनिबार उद्घाटन गरिएको ट्री हाउसले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्न सक्ने विश्वास समूहको छ । यलम्बरमा सिजनमा दैनिक एक सयभन्दा माथि पर्यटकहरू आउने गरेका छन् भने अफ सिजनका बेला दैनिक ७० को हाराहारीमा आन्तरिक पर्यटक आइपुग्ने अध्यक्ष रामबहादुर बताउँछन् । ‘अब ट्री हाउसले अलि मान्छे बढ्ला ।’ उनले भने । उनका अनुसार पूर्वको झापा, मोरङ, धनकुटा, ताप्लेजुङसम्मका पर्यटकहरू यलम्बरमा रमाउन आइपुग्छन् । २०५६ सालदेखि वनभोजका लागि खुल्ला गरिएको हो । समूहका सल्लाहकार तथा सदस्यसमेत रहेका दिवंगत पर्शुराम राईको नाममा ट्री हाउस सञ्चालनमा आएको हो । दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्मित ट्री हाउस उनको परिवारले निर्माण गरेर समूहलाई हस्तान्तरण गरेको हो । ट्री हाउसको उद्घाटन दिवंगत राईकी श्रीमती मसिनी राईले गरिन् ।  करिब ३२ हेक्टरमा फैलिएको वनमा डेढ हेक्टर क्षेत्रफलमा वनभोज स्थल छ । ट्री हाउसको परिकल्पना १५ वर्षअघि नै रहेको संस्थापक सचिव रमेशको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो सोच पहिलादेखिको हो । तर, आर्थिकले गर्दा बनाउन सकेनौं । अहिले समूहकै सल्लाहकारको परिवारले निर्माण गरिदिनुभयो । हाम्रो सपना साकार भयो ।’

वन संरक्षण गर्नमा अधिकांश भूतपूर्व सैनिकहरूको योगदान छ ।  उक्त वनमा समूहले वृक्षरोपण गरेका विरुवामात्रै छन् । २०५४ सालमा वृक्षरोपण गरेका विरुवामध्ये एउटा रुखमा ट्री हाउस निर्माण गरिएको छ । जसको क्षमता १५ देखि २० जनासम्म रहेको समूह बताउँछ । यो वयस्क मान्छेको हकमा हो । ट्री हाउसमा बस्न, खानका लागि पनि कुर्सी, टेबलहरू राखिने तयारी समूहले गरेको छ । धरानमा ट्री हाउस रेस्टुरेन्ट ६ महिना अघिबाट धरान– १३ मा सञ्चालित छ ।