विराटनगर/ मृत बच्चालाई डष्टविनमा फाल्ने सप्तकोशी अस्पताललाई स्थानीय सरकारले कारबाही गर्ने भएको छ ।  फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट म्यानेजमेन्ट ग्रुपको निवेदनको आधारमा स्थानीय सरकारले कारबाही अगाडि बढाएको हो । अस्पताल विराटनगर–९ रोडशेष चोकमा छ ।

अस्पतालबाट उत्पादित फोहोर अस्पतालले नै व्यवस्थापन गर्नुपर्ने नियम छ । तर गत बुधबार ग्रुपका सफाइ कर्मचारीले फोहोर सङ्कलनका क्रममा डष्टविनमा मृत अवस्थामा नवजात शिशु फेला पारेका थिए । डष्टविनमा शिशु फेला परेपछि महानगरको ध्यानाकर्षण भएको वातावरण शाखा प्रमुख अनिता कोइराला (न्यौपाने) ले बताइन् । ‘मरेको बच्चा डष्टबिनमा हालेको पाइयो’ उनले भनिन्, ‘सबै प्रमाण महानगरसँग आएकाले अब कारबाही प्रक्रिया अघि बढ्छ ।’ अस्पतालबाट उत्पादित फोहोर जथाभावी फालेमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने महानगरपालिकाले जनाएको छ । बच्चा फाल्ने अस्पताललाई पनि यही नियमभित्र रहेर कारबाही गर्ने बताइएको छ । सालनालसहित डष्टविनमा भेटिएको बच्चा अवैध गर्भपतन गरिएको स्रोतको दाबी छ । यस अस्पतालले बिरामीबाट मोटो रकम लिएर अवैध रूपमा गर्भपतन गराउने गरेको अस्पताल स्रोत बताउँछ । मृत शिशु फेला परेपछि प्रहरी कार्यालय मोरङले पनि अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा पेटभित्र नै मृत भएको बच्चा फालेको अस्पतालले प्रहरीलाई बताएको छ । मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले अस्पतालसँग सोधपुछ गर्दा पेटभित्र नै मृत भएको बच्चा फालेको आफूहरुलाई जानकारी दिएको बताए । उनले अनुसन्धान जारी रहेको बताए ।

अस्पतालका प्रशासन प्रमुख विमल नेपालले अस्पतालका स्विपरले लापरबाही गरेको बताए । उनका अनुसार अस्पतालमा जँचाउन आएका सप्तरीकी महिलाको पेटको बच्चा मृत भेटिएपछि शल्यक्रिया गरी निकालिएको थियो ।