मधुमल्ला । कुखुरापालक व्यवसायीले आफ्नो उत्पादनको मूल्य आफैं तोक्न पाउनु पर्ने माग गरेका छन् । शनिबार बेतना सिमसारमा कुखुरापालक किसानको जिल्ला भेलालाई सम्बोधन गर्दै नेपाल कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले खुल्ला सिमानाका कारण भएको अवैध पोल्ट्रीजन्य पदार्थको खुल्ला आवागमनलाई नियन्त्रण गर्नु पर्ने बताए । दाना र चल्ला उत्पादन गर्ने संस्थाहरूले उनीहरूको लागत अनुसार मुनाफासहित किसानलाई चल्ला र दानाको दाम लिने तर किसानले उत्पादन गरेको बोइलर कुखुराको मूल्य किसानले तोक्न नपाउनु बिडम्बना भएकाले यसको अन्त्य गर्न एकजुट हुनु पर्ने बताए । मोरङ जिल्लामा व्यवसायिक बोइलर कुखुरापालक व्यवसायीको भेलाले हरेन्द्र बरालको अध्यक्षतामा २३ सदस्यीय मोरङ जिल्ला तदर्थ समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्ष कमला मास्के , सचिव, हरिप्रसाद भण्डारी, सह–सचिव सन्तोष गौतम र कोषाध्यक्षमा सुरेखा कार्की चयन भएका छन् । समितिका सदस्यमा मानबहादुर विष्ट, सन्तोष सिंह, पदम पाठक, कमल सिंह खड्का, आनन्द गिरी, केदार सुवेदी, केशव श्रेष्ठ, दिनेश थापा, रामबहादुर न्यौपाने, हरि न्यौपाने, हेमराज बास्तोला, जीवन खाती र मुना कार्की रहेका थिए । बाँकी थप ८ जना तदर्थ समितिले मानोनित गर्ने बताइको छ । कार्यक्रममा सहभागी अधिकांश किसानले उत्पादनले उचित मूल्य नपाएको दुखेसो पोखेका थिए । कार्यक्रममा मोरङ जिल्लाका १२ वटा स्थानीय तहका एक सय बढी किसानको सहभागिता थियो ।