इनरुवा । बैङ्क दाखिला नगरी आफूखुसी लाखौं रकम कुम्ल्याउने इनरुवा अस्पतालका कर्मचारीलाई कारबाही गरिने भएको छ । अस्पताल काउण्टरका कर्मचारीले आफूखुसी चलाएको रकम असुल्न अस्पताल प्रशासनले कारबाही थाल्ने भएको हो । हिनामिना गर्ने कर्मचारीलाई कारबाही गरिने अस्पताल प्रशासनले जनाएको छ । इनरुवा अस्पतालकी मेसु डा. विना शाक्यले सरकारी रकम हिनामिना गर्नेहरु विकेश श्रेष्ठसहितका कर्मचारीलाई कारबाहीको प्रक्रियाअघि बढाइएको छ । काउण्टर इञ्चार्ज विकेश श्रेष्ठलाई दोषी ठहर गर्दै निलम्बनको तयारी थालेको उनले बताइन् । त्यस्तै अर्का कर्मचारी अजय प्रधानलाई समेत निलम्बन गर्ने प्रक्रिया अघि बढाएको छ । अन्य कर्मचारीको विषयमा थप छानविन गरिने अस्पतालले जनाएको छ । उनीहरुमाथि तत्कालका लागि आन्तरिक कारबाही गर्ने तयारी थालेको छ । अस्पतालको रकम हिनामिना गर्नेमा श्रेष्ठसहित प्रधान, कविता पोद्दार, सरु भट्टराई र आयुषी शाक्य संलग्न रहेको पाइएको थियो । अस्पतालको लेखा फाँटका अनुसार विकेशका नाममा १० लाख र अजयको नामको ३ लाखभन्दा बढी रकम अझै बक्यौता छ । अन्यले भने आफूले हिनामिना गरे बमोजिमको रकम बुझाएको इनरुवा अस्पतालले जनाएको छ । हिनामिना गरिएको रकम फिर्ता बुझाए पनि सरकारी रकम दुरुपयोग गरेको पाइएकाले संलग्न सबैजना कारबाहीको भागिदार हुने अस्पताल प्रशासनको ठहर छ ।