तेह्रथुम । आठराई–२ खाम्लालुङका विनोद चोङबाङले बाख्रापालन व्यवसायबाट मनग्गे आम्दानी गर्दै आएका छन् । वर्ष दिनसम्म कतार बसेर कमाइ नभएपछि नेपाल आएका चोङबाङले गाउँमै बसेर बाख्रा पालनबाट राम्रो आम्दानी गर्दै आएका हुन् । ‘बाख्रापालन व्यवसायबाट मनग्गै आम्दानी हुन्छ भनेर कल्पनासमेत गरेको थिइनँ, तर अहिले राम्रो आम्दानी भएको छ ।’ उनले भने । गाउँमै सम्भावना देखेर एउटा बाख्राबाट सुरु गरेको यो व्यवसायबाट उनले अहिले वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् । उनले एउटा बाख्राबाट सुरु गरेको बाख्रा पालन १ सय ५० बढी बाख्रा हुँदा व्यवसायिक रूपमा अघि बढिरहेका छन् । सुरुमा छिमेकबाट ल्याएको बाख्राले विस्तारै उत्पाद दिँदा यतिको सङ्ख्या भएको चोङबाङले बताए । उनीसँग अहिले ४५ वटा माउ बाख्रा, दुई दर्जन बढी खसी र पाठापाठी छन् । कतारमा १२ घण्टा खटेर काम गर्नु भन्दा नेपालमै मिहिनेत गरेर काम गर्ने सोचले गाउँ फर्किएका चोङबाङ अहिले गाउँकै नमुना बाख्रापालक व्यवसायी भएका छन् । उनको व्यसाय देखेर अहिले गाउँका अन्य युवाहरू समेत बाख्रा पालन व्यवसायमा लागेका छन् । यो व्यवसाय गर्दा सुरुमा बाख्रामा लाग्ने रोगका कारण समस्या आए पनि अहिले बाख्रामा लाग्ने रोगको आफैँ उपचार गर्ने चोङबाङले बताए । बाख्रा बिहान १० बजे जङ्गलमा छाडेपछि बेलुकी ४ बजे आफैँ घर फर्किने गरेका छन् । बाख्राको हेरचाहमा बिहानैदेखि खटिने चोङबाङलाई उनकी पत्नी बुद्धमाया लिम्बूले समेत सहयोग गर्ने गरेकी छन् । बाख्रा पालन व्यवसायमा बजारको समेत समस्या नभएको उनले बताए । स्थानीय बजारमा मात्र हैन उनले पालेको खसी, बोका झापासम्मका व्यापारीले घरमै आएर किनेर लाने गरेका छन् । ‘सानो पुँजीबाट सुरु गरेको व्यवसायले घर खर्च धानेर बाँकी केही रकम बँच्ने गरेको छ ।’ उनले भने । स्थानीय जातका बाख्रा पालेर अहिले उनी गाउँमै नमुना उद्यमी भएका छन् । यसअघि बाख्रापालन सुरु गर्दा खिसी गर्ने छिमेकीहरू समेत अहिले उनलाई बधाई दिन थालेका छन् । बाख्रापालन व्यवसाय सुरु गरेका चोङबाङले अहिलेसम्म सरकारी स्तरबाट कुनै अनुदान नपाएको गुनासो गर्छन् । वैदेशिक रोजगारीमा भन्दा आफ्नै गाउँ घरमा केही गर्न सके राम्रो हुने भएकाले यसबारेमा स्थानीय सरकारले पनि किसानहरूका लागि योजना बनाउनु पर्ने उनको धारणा छ । उनले बाख्रापालक किसानहरूलाई मात्र हैन, अन्य किसानहरूले समेत आफ्नो वस्तुको मूल्य आफैँ तोक्न नपाउँदा विचौलियाबाट आफूहरू ठगिनु परेको बताए । उनले बजारको मूल्यका बारेमा स्थानीय सरकारले मापदण्ड तयार गर्नु पर्ने समेत सुझाव दिएका छन् । नमूना युवा व्यवसायी चोङबाङले गाउँमै संयुक्त व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरणका लागि उनले बाख्रापालनसँगै अर्गानिक तरकारी खेती र माहुुरीपालन व्यवसायसमेत सुरु गरेका छन् । उनले बाख्रा पालनसँगै अहिले १८ घार माहुरी पालेका छन् भने अर्गानिक तरकारी खेतीसमेत गरेका छन् । बाख्रा किन्न आउने व्यापारीहरूले नै माहुरीको महसमेत किन्ने उनले बताए । उनले वार्षिक ६० हजार बढी माहुरीको महबाट आम्दानी लिने गरेका छन् ।