इटहरी/ नायिका मरिस्का पोखरेलले नेपाली चलचित्र मिस्टर भर्जिन भदौ १ मा रिलिज हुने बताएकी छन् । परिवारसँग बसेर हेर्न सकिने चलचित्र देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्रको प्रवद्र्धन गर्न रिपोर्टर्स क्लब इटहरी आएको मिस्टर भर्जिन टोलीले पत्रकारहरुसँग कुरा गर्दै ‘बुबाछोरी, आमाछोरा, दिदीभाइ वा दाजुबहिनी सँगै बसेर हेर्न मिल्ने बताएको छ ।

यौन मनोविज्ञानमा आधारित चलचित्र भए पनि समाजमा पाच्य हुने गरी चलचित्र बनेको चलचित्र टिमले जनाएको छ । चलचित्रले सेक्स कमेडी चलचित्र बनाउन चाहनेलाई पनि प्रेरणा दिने टिमको दाबी छ । मरिस्काले यस चलचित्रमा आफू सेक्स वर्कर भएर खेलेको भन्दै यसका लागि आफूले ठमेलमा गएर सेक्स वर्कर, कल गर्ल, बार डान्सरहरुसँग सङ्गत गर्नुका साथै उनीहरुको आनीबानी, बोलीचालीसमेत नजिकबाट बुझेर जस्ताको तस्तै उतार्ने प्रयास गरेको बताइन् । चलचित्रका नायक गौरव पहारीले मिस्टर भर्जिनको स्टोरी र कन्सेप्ट दुवै भर्जिन भएको र यो नेपालकै पहिलो सेक्स कमेडी चलचित्र भएको दाबी गरे । चलचित्र बनेपछि आफूले स्क्रिनमा हेर्दा आफैले गरेको अभिनय फरक र नयाँ लाग्नुका साथै आफैलाई मज्जा लागेर हाँसेको भन्दै भने, ‘फिल्मको नाम भन्दैमा नाक खुम्च्याउनुपर्ने छैन, लाजै मान्नुपर्ने केही छैन, हलमा मोबाइल चलाउनु पर्दैन ।’ मिस्टर भर्जिनमा भएका कुरा समाजमा घटिरहेकै विषयहरु भएको बताउँदै यसले दर्शकको मन मुटुमा राम्रो छाप पार्ने उनले बताए । ‘फिल्म मज्जाको छ जसरी पनि हेर्नुहोस् है’ –उनले भने । अर्का अभिनेता कमलमणि नेपाल (खुपीका बाउले) यस चलचित्रले सेक्सप्रति साँघुरो सोच राख्नेहरुलाई फराकिलो सोच बनाउन बाध्य पार्ने बताए । उनले भने, ‘हामी लुकीलुकी नीलो चलचित्र हेर्छौं, अश्लील पत्रिका र पुस्तक पढ्छौं, अश्लील कुराहरु गर्छौं र खुलेर कुरा गर्न हिच्किचाउँछौं, तर यस चलचित्रले यौन शिक्षा त्यो पनि मनोरञ्जनात्मक तरिकाले दिन्छ ।’ उनले डबल अर्थ लाग्ने शब्दको प्रयोग शालिन तरिकाले प्रस्तुत गरिएकाले समाजमा पाच्य हुने उनले तर्क गरे । चलचित्रका निर्माता प्रजापति शिवाकोटीले मिस्टर भर्जिन तीन उमेर समूहका युवाहरुको फरक–फरक यौन चाहना र त्यसको लागि गरेको सङ्घर्षमा आधारित रहेको जनाए । यो चलचित्र परिवारसँग बसेर हेर्न मिल्नुका साथै स्वस्थ मनोरञ्जनको चलचित्र भएको उनको भनाइ छ । १ करोड २५ लाखमा निर्माण गरिएको मिस्टर भर्जिनले लगानी सजिलै उठाउने उनले विश्वास व्यक्त गरे । फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।