मधुुमल्ला । मिक्लाजुङ गाउँपालिकाले नियमित रूपमा बजार क्षेत्रको फोहोर मैला सङ्कलन गर्न थालेपछि स्थानीयमा उत्साह छाएको पाइएको छ ।

पूर्वकै पुरानो बजार मधुमल्ला क्षेत्रको फोहोरको उचित व्यवस्थापन नहुँदा दिनानु दिन अव्यवस्थित, दुर्गन्धित र बजारसमेत विस्थापन हुन थालेपछि गत शनिबारबाट गाउँपाललिकाले मिक्लाजुङको केन्द्र मधुमल्ला बजार र आसपासका क्षेत्रबाट निस्कने फोहोरमैलालाई सङ्कलन गरी सातामा दुई दिन व्यवस्थापन गर्न थालेको स्थानीय व्यवसायी नारायण गुरागाईंले बताए ।

विगत लामो समयदेखि यसक्षेत्रको फोहोरमैला व्यवस्थापन नहुँदा बाटो आसपास, नाली र सामुदायिक वन, स्थानीय नुनसरी खोला र मावा खोलामा आँखा छली फोहोर फाल्ने गरिएको थियो । गाउँपालिकाले फोहोर उठाउन थालेपछि उक्त समस्याबाट स्थानीय मुक्त भएका हुन् ।

‘यसअघि स्थानीयले फोहोर उठाउन बारम्बार माग गरे पनि विविध कारणले फोहोर उठाउन सकिएको थिएन’ मिक्लाजुङ गाउँपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सोमनाथ अधिकारीले भने, ‘तर अब गाउँपालिकाले निरन्तर फोहोरमैला व्यवस्थापनमा काम गर्नेछ ।’