धरान/ भारतको सुप्रिम कोर्ट (सर्वोच्च अदालत) ले सीबीआईको अपिलमा तलवार दम्पत्ती र यूपी सरकारलाई पत्र थमाएको छ ।  सुप्रिम कोर्टले सीबीआईको याचनामाथि सुनुवाइ गर्ने भएको हो । यो हत्याकाण्डमा सुप्रिम कोर्टले तलवार दम्पत्ती र उत्तर प्रदेश सरकारलाई सशङ्कित बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसलाई हेमराजकी श्रीमती खुमकला बञ्जाडेको निवेदनसँगै संलग्न गरिएको छ । यसअघि खुमकलाले हाइकोर्टको फैसला प्रति असन्तुष्टी जनाउँदै याचना पेश गरेकी थिइन् । अब यी दुवै मामिलामा एकै पटक सुनुवाइ हुने बताइएको छ । अदालतको यो निर्णयले तलवार दम्पत्तीलाई थप कानुनी समस्या हुन सक्ने आजतकले उल्लेख गरेको छ । भारतको शीर्ष अनुसन्धान एजेन्सी सीबीआई आरुषी–हेमराज हत्याकाण्डमा राजेश तलवार र नूपुर तलवारलाई रिहा गर्ने निर्णयका विरुद्ध अदालतमा अपिल गर्न असफल भएको थियो । भारतस्थित नोयडाका डाक्टर दम्पत्ती राजेश र नूपुरले उनकी छोरी आरुषी र घरेलु कामदार नेपालका हेमराज बञ्जाडेको हत्या गरेको मुद्दासँग सम्बन्धित रिटमा इलाहावाद उच्च अदालतको बेञ्चले १२ अक्टुबर, २०१६ मा उनीहरुलाई रिहा गरिदिएको थियो । यो हत्याकाण्डमा तलबार दम्पत्तीको संलग्नता रहेको कुनै पनि ठोस सबूत प्रमाण सीबीआईका तर्फबाट पेश हुन नसकेको भन्दै इलाहावाद उच्च अदालतले यो फैसला गरिदिएको थियो । उच्च अदालतले यो काण्डमा सीबीआईको अनुसन्धानको सुस्तता प्रति पनि इङ्गित गरेको थियो । स्ट्याण्डर्ड अपरेशनल प्रोजिसरअन्तर्गत एजेन्सीलाई तल्लो अदालतको आदेशको प्रति प्राप्त भएपछि ९० दिनभित्रमा माथिल्लो अदालतमा अपिल पेश गर्नुपर्ने हुन्छ । आजतकले उल्लेख गरेअनुसार सीबीआईका शीर्ष अधिकारी उच्च अदालतको आदेशविरुद्ध अपिल गर्ने वा नगर्ने विषयमा निष्कर्षमा पुग्न सकेका थिएनन् । सीबीआईले विशेषज्ञको सल्लाहअनुसार सुप्रिम कोर्टमा अपिल पेश गर्ने छ । तर यसका लागि एउटा विकल्पमात्र छ, ‘विलम्बका लागि क्षमायाचना’ सहितको अपिल पेश गर्ने । नोभेम्बर २०१३ मा गाजियावादमा सीबीआईको विशेष अदालतले तलवार दम्पत्तीलाई जन्मकैदको सजाय सुनाएको थियो । उनीहरुलाई आरुषी र हेमराजको हत्या गरेको साथै सबूतप्रमाण नष्ट गरेकोमा दोषी ठहर्याइएको थियो । राजेश तलबारलाई प्रहरीसमक्ष झुठो बयान दिएकोमा समेत दोषी मानिएको थियो । यो फैसलालाई तलवार दम्पत्तीले उच्च अदालतमा चुनौती दिएका थिए । १६ मे २००८ मा नोएडास्थित जलवायु विहारमा तलवार दम्पत्तीका घरमा अरुषीको शव उनको ओछ्यानमा भेटिएको थियो । प्रहरीले पहिले घरेलु कामदार हेमराजमाथि आरुषीको हत्या गरेको आशङ्का गरेको थियो । तर एकदिनपछि घरको छतमा हेमराजको शव भेटिएपछि नोएडा प्रहरीले घटनाबारे बयान लिएको थियो । बयानमा तलबार दम्पत्तीलाई प्रहरीले शङ्का गर्यो । आरुषी र हेमराजलाई आपत्तीजनक अवस्थामा फेला पारेपछि राजेशले दुईजनाकै हत्या गरेको बयानका क्रममा प्रहरीले निष्कर्ष निकालेको थियो । पछि यो अनुसन्धान नोएडा प्रहरीबाट सीबीआईलाई प्रदान गरिएको थियो । अनुसन्धानलाई सही ढङ्गले पूरा नगरेको नोएडा प्रहरीमाथि आरोप लागेको थियो । सीबीआईले अनुसन्धानपछि क्लोजर रिपोर्ट पेश गरेको थियो । सीबीआईले हत्यामा तलवार दम्पत्तीलाई दोषी प्रमाणित गर्ने सबूतको अभाव देखाएको थियो । यद्यपि गाजियावादमा सीबीआईको विशेष अदालतले एजेन्सीको यो तर्कलाई खारेज गरिदिएको थियो । उक्त अदालतले आरुषी र हेमराजको हत्याको दोषी ठहर गर्दैै दुवैलाई जन्मकैदको सजाय सुनाएको थियो ।