भद्रपुर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जनताको घर दैलोमा आएको अधिकार फेरी सिंहदरबार फर्काउन षडयन्त्र भइरहेको बताएका छन् ।

आएको अधिकारलाई संस्थागत गर्दै उपलब्धिमुलक बनाउनु आजको प्रमुख आवश्यक्ता रहेको धारणा राखेका थिए । नेपाल आदिवासी जनजाती महासङघ नगर समन्वय समिति परिषद भद्रपुरले बिहीबार आयोजना गरेको २४ औ विश्व आदिवासी दिवसको अवसरमा यस्तो बताएका हुन् ।

सबैको साझा निश्कर्ष आर्थिक समृद्धि र विकास भएकोले प्रदेश सरकारले सोही मुद्दालाई अर्जुन दृष्टि बनाएर अघि बढेको उल्लखे गरेका छन् । कुनैपनि बेला देश आर्थिक अवस्थाले टाट पल्टिने अवस्थामा पुग्ने भएकोले दिगो विकासको लागि योजनाबद्ध भएर लक्ष्य समाइ देशलाई समुन्नत र विकसित बनाउन जरुरी रहेको धारणा अघि सारेका थिए । भाषण गरेर समृद्धिको कुरा गर्नु भन्दा योजना बनाएर कार्य गर्नु उपलब्धि हुने उनको बुझाइ थियो ।

अबको पाँचवर्ष भित्र नेपालका कुनैपनि युवाहरु विदेश गएर बाकसमा आउनु पर्ने अवस्थाको अन्त्य गराई नेपालमा नै स्वरोजगार बनाइने ठोकुवा गरेका थिए । यो सरकार क्षणिक अवधिको नभई पाँचवर्ष सम्म रहने भएकोले सो अवधिसम्म सुखी र समृद्धि नेपाल हुने बताएका थिए ।

देशमा कालो बजारी, गुण्डागर्दी नियन्त्रण गर्दा कम्यूनिष्ट शासन आयो भन्दै प्रतिपक्ष दल वर्तमान सरकारको बिरुद्धमा आइरहेकोले विश्वको सबैभन्दा बढी लोकतान्त्रिक र प्रजातन्त्रबादी भनेको कम्यूनिष्टमात्र भएको उनले उल्लेख गरेका थिए ।

आदिवासी तथा जनजातीको विषयमा बोल्दै उनले भने ‘संविधानमा आएको अधिकारलाई संस्थागत गर्नु, अनि बाँकी अधिकारको खोजी गर्नु उचित हुनेछ ।’ ‘भूइँको टिप्दा गोजीको खस्ने’ भएकोले त्यसतर्फ ध्यान दिन अनुरोध गरेका थिए । आदिवासी भुमी पुत्र भएकोले हरेक परिवर्तनको लागि निर्णायक भुमिका अतुलनिय रहेको उल्लेख गर्दै लोकसेवा आयोगले आदिवासीको कोटा सुरक्षीत राखेको हुँदा आफुलार्इ बदल्न सक्नु पर्ने स्मरण गराएका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति परिषदका अध्यक्ष सन्तोष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद ओमप्रकाश सरावगी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेपाली काङ्ग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, नेकपा नेता असारु राजवंशी, राजु आचार्य, राजवंशी विकास समितिका पुकार राजवंशी, किराँत याक्थुङ्ग चुम्लुङ्गका काजीमान राईले दिवसको बारेमा आ–आफनो धारणा राखेका थिए ।

कार्यक्रममा १४ जातीका झाँकी तथा नृत्यहरु प्रस्तुत् गरिएको थियो । भद्रपुर नगरभित्र रहेका आदिवासीका सन्ततीमध्ये एसईईमा सर्वोत्कृष्ठ अङ्क ल्याउने सामुदायिक र संस्थागतका चार जना छात्रछात्रालाई सम्मान गरिएको थियो । साथै नगर क्षेत्रमा शान्ती सु–व्यवस्था कायम राखेको भन्दै वडा कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूलाइ समेत सम्मान गरिएको थियो । सहनलाल गणेशले स्वागत गरेको कार्यक्रममको सञ्चालन क्यानेन्द्र कुमार राइले गरेका थिए ।