ताप्लेजुङ । अप्ठ्यारो र लामो भनेर आलोचित भएको कञ्चनजङ्घा आधार शिविर जाने पदमार्ग छोट्याउने काम सुरु भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र तथा व्यवस्थापन परिषद्ले फक्ताङलुङ गाउँपालिकाको तापेथोकबाट सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन निस्कने गरी नयाँ पदमार्ग निर्माण थालेको हो । तापेथोकको रानीपुलबाट यसाङ–तोरोङेदेन–राम्जेर–चेराम हुँदै आधार शिविरको ओक्तामसम्म नयाँ पदमार्ग बनाइने परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए । ‘अहिलेको रुट लामो र अप्ठ्यारो भएका कारण विश्वको तेस्रो अग्लो हिमालले पर्यटक तान्न सकेको छैन’, अध्यक्ष लिम्बूले भने, ‘बाटोलाई सजिलो र छोटो बनाएर पर्यटक आकर्षित गर्ने हाम्रो योजना हो ।’ यो आर्थिक वर्ष विनियोजन भएको १२ लाख बजेटले १ हजार ८ सय मिटर नयाँ ट्रयाक खोलिएको छ । पदमार्गको चौडाइ पर्यटकलाई हिँड्न सजिलो हुने गरी चार फिटभन्दा बढी बनाइएको छ । नयाँ पदमार्ग बनेपछि तीन दिनको समय छोटिने उनको भनाइ छ । विदेशी पर्यटक अहिले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट २१ दिनमा आधार शिविर पुगेर फर्कन सक्छन् । यसाङसम्म सडक पु¥याउने काम भइरहेकाले त्यसपछि झनै सजिलो हुने तापेथोकका वडाध्यक्ष देउप्रसाद लिम्बूको भनाइ छ । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत तमोर करिडोरमा पर्ने रानीपुलबाट हेल्लोक हुँदै यसाङसम्म आगामी वर्षसम्ममा पुग्ने उनले बताए । यसाङबाट माथि भने पैदल मार्ग मात्र बनाइनेछ । पहिलो चरणमा बाटो बनाउने र दोस्रो चरणमा सामुदायिक लज, खानेपानी, शौचालय, डम्पिङ साइटजस्ता पूर्वाधार निर्माण गर्ने योजना रहेको जनाइएको छ । उच्च हिमाली क्षेत्र भएकाले यो क्षेत्रमा यात्रा गर्दा हिमालका मनमोहक दृश्यका साथै दुर्लभ जङ्गली जनावर पनि देख्न सकिन्छ । यहाँ दर्जनभन्दा बढी पोखरी, फाँट रहेको गोठ सञ्चालक कमल विष्टले बताए । पाथीभरा मन्दिर क्षेत्रबाट नयाँ पदमार्ग नजिक पर्ने भएकाले मन्दिर तीर्थयात्रीसमेत तान्ने गरी योजना बनाइएको छ । ‘पाथीभरामा वार्षिक ३ लाख पर्यटक पुग्छन्’, परिषद्का पूर्वसदस्य सचिव तेन्जिङ वालुङले भने, ‘त्यसको १० प्रतिशतलाई कञ्चनजङ्घा लान सकियो भने ठूलो उपलब्धि हुन्छ ।’ कञ्चनजङ्घा जान अहिले तीनवटा पदमार्ग छन् । सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै एउटा, सुकेटार–लालीखर्क हुँदै सिरिजङ्घा गाउँपालिकाको तेल्लोक भएर याम्फुदिनबाट र पाँचथरको गणेश चोकबाट ताप्लेजुङको हप्पुखोला–खेवाङ हुँदै अर्को रुट छन् । कञ्चनजङ्घा आधारशिविरमा वार्षिक ७ सय पर्यटक आउने गरेका छन् । हिमाल आरोहण गर्ने निकै कम छन् । चार वर्षपछि गत जेठमा ४६ जना कञ्चनजङ्घाको चुचुरोमा पुगेका थिए । पूर्वाधार राम्रो बनाउन सके पर्यटक वृद्धि हुने आरोही पेम्बा ग्याल्जेन शेर्पाले बताए ।