उर्लाबारी । नेपाली काङ्ग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धनले उर्लाबारी उद्योग वाणिज्य सङ्घको आगामी भदौ ९ र ११ गते हुने निर्वाचनका लागि बुधबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । चुनाव प्रचार–प्रसार समितिका संयोजक तारामान सेरेङको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति खड्ग फागोको प्रमुख आतिथ्यमा भएको सो पत्रकार सम्मेलनमा प्रमुख अतिथि फागोले चुनावी प्रतिबद्धता पत्रको विमोचन गरेका थिए । गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा,महिला उद्यमीलाई कर छुट गर्ने, मिस म्याचको लागि चार्टर एकाउण्टेण्ट नियुक्त गर्ने, सङ्घको व्यवसायी मृतक राहत कोषलाई रु. १० हजारबाट वृद्धि गरी २५ हजार पारिएको, प्राकृतिक प्रकोप कोषलाई रु. १० हजारबाट प्रकृतिअनुसार रु. २० हजार देखि ५० हजारसम्म प्रदान गरिने, उर्लाबारीमा आन्तरिक राजश्व कार्यालयको सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने, कृषि, उद्यमी तथा व्यापारीलाई लगाइएको स्थानीय कर घटाउन पहल गर्ने, घरभाडालाई वैज्ञानिकीकरण गर्दै घर धनीसग“ सुमधुर सम्बन्ध कायम गर्दै घर बहालकर घरधनीले नै तिर्नुपर्ने व्यवस्था गर्ने, नगरका आधादर्जन स्थानमा सिसी क्यामरा, फ्री वाईफाई र सडक बत्तीको व्यवस्था गर्ने, व्यापारीसँग उठाइने चन्दा चिठ्ठालाई निरुत्साहित गर्ने, व्यापारीहरुको सुरक्षाका लागि रात्रीकालीन सुरक्षाको व्यवस्था गरी राति १० बजेसम्म बजार खुल्ने वातावरणको सिर्जना गर्ने जस्ता २९ वटा बुँदा भएको चुनावी एजेण्डा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि फागोले, सङ्घीय समाजवादी फोरमका नगर संयोजक रामकुमार राई, नया“ शक्ति पार्टी नेपालका क्षेत्रीय संयोजक मनोहरि दाहाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी जिल्ला अध्यक्ष दिलु लिङ्देनले सबै एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने र गठबन्धन समूहले विजय हात पार्नुपर्ने बताएका छन् । कार्यक्रममा अध्यक्षका उम्मेद्वार प्रितम खड्गीले पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । गठबन्धनमा नेपाली काङ्ग्रेससहित सङ्घीय समाजवादी फोरम, नया“ शक्ति पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च समर्थित उद्योगी एवम् व्यापारीहरु रहेका छन् । गठबन्धनले अध्यक्षमा खड्गीसहित १६ वटै पदमा उम्मेदवारी घोषणा गरिसकेको छ ।