धनकुटा । धनकुटा बजारलाई ‘स्मार्ट सिटी’ बनाउन मङ्गलबार सरोकारवालाहरूबीच कार्यशाला गरिएको छ । स्मार्ट सिटी बनाउन थालिएको अध्ययनबारे सर्वपक्षीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । सहरी विकासको दीगोपन, मापन योग्य, पहुँच, अनुशरण योग्य तथा प्रविधिमैत्री लगायतका सूचकका आधारमा स्मार्ट सिटी निर्माण गरिने शहरी योजनाविद् इञ्जिनियर रविन्द्र दवाडीले बताए । तीन चरणको गुरु योजना तयार पार्न तयारी गरिएको स्मार्ट सिटी धनकुटा अध्ययन प्रतिवेदन समूहका दवाडीले बताए । उनका अनुसार ५ वर्षे अल्पकालीन, १० वर्षे मध्यकालीन र १५ वर्षे दीर्घकालीन गुरु योजना बनाइने छ । स्मार्ट सिटीको सबल, दुर्बल पक्ष, अवसरहरू र चुनौतीबारे जानकारी गराइयो । स्मार्ट शहरका आधारभूत विश्लेषण गर्ने क्रममा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ व्यवस्था हुनु पर्नेमा सहजीकरणमा जोड दिइएको थियो । साथै, स्मार्ट सिटी भित्रका ५ पिल्लरबारे पनि जानकारी गराइयो । स्मार्ट सिटीमा मुख्य पूर्वाधारहरूको माध्यमबाट धनकुटा नगरवासीहरूको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्नेबारे पनि छलफल गरिएको थियो । एकीकृत भवन निर्माण मापदण्ड, भूउपयोग नीति, आवास कृषि व्यवसायिक तथा सडक सञ्जालको नीतिलगायतका विषयवस्तुलाई प्रतिवेदनको आधार मानिने अध्ययन टोलीका सदस्य तथा नयाँ शहरी आयोजनाका इञ्जिनियर रमिता टचामोले बताइन् । स्मार्ट सिटी बनाउन उत्साहित भएको धनकुटा नगरपालिकाकी कार्यवाहक प्रमुख शकुन्तला बस्नेतले बताइन् । कार्यवाहक नगर प्रमुख बस्नेतको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण गोष्ठीमा १ देखी १० नम्बर वडासम्मका जनप्रतिनिधि, नगरवासीहरू, सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधि र स्थानीय सञ्चारकर्मीलगायत सहभागी थिए ।