धरान । प्रदेश १ को नाम किरात नै रहने पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसको अवसरमा मङ्गलबार उनले नेपालको इतिहास किरातबिना सम्भव नभएको बताए । उनले मुलुकको इतिहास र सभ्यतामा यलम्बरसँग जोडिएकाले प िप्रदेश १ को नाम किरात रहने दाबी गरेका हुन् । उनले पार्टीभित्र र सरकारमा किरातका लागि गम्भीर रूपमा छलफल गरिएको बताए । उनले बाइसे, चौविसे राज्य नामेट पार्न सफल भएका पृथ्वीनारायण शाहले त वल्लो, पल्लो र माझ किरातलाई स्वीकारेले कम्युनिस्टले नेपाली सभ्यतासित जोडिएको किरातलाई कदापि नमेट्ने दाबी गरे । कार्यक्रममा सङ्घीय संसद्का सांसद्हरू सुरेशकुमार राई, हेमकुमार राई, प्रमिला राईलगायतले प्रदेश नं. १ लाई किरात नामाकरणको पक्षमा विचार व्यक्त गरेका थिए । यायोक्खाका अध्यक्ष तिलक राई र सल्लाहकार दुर्गा राई, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायत बोलेका थिए । त्यस अवसरमा विद्यावारिधी प्राप्त मन्दीप राई, सगरमाथा आरोही गजुरमान राई र राई समुदायको पहिलो महिला पाइलट सृष्टि राईलाई सम्मान गरिएको थियो । साथै, विभिन्न क्षेत्रका प्रतिभाहरुलाई पुरस्कार र छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।