चुचुराे टेकेकी देउराली (भिडियाे सहित)

भाेजराज श्रेष्ठ

विश्वको सर्वोच्च टाकुरा सगरमाथा चढेपछि पत्रकार देउराली चाम्लिङको नामले सार्थकता पाएको छ । उनी समाजको सेलिब्रेटी बनेकी छन् । समाजले उनलाई सेलिब्रेटी मानिदिँदा भित्रैबाट असहज लाग्छ । अप्ठ्यारो लाग्छ ।
तर यथार्थबाट टाढा भाग्न सक्दिनन् । गत जेठ ९ गते क्याम्प फोरबाट १२ घण्टाको मेहनतपछि टाकुरा पुगेर नेपालको झण्डा फहराउन सफल बनेकी उनी नचाहेर पनि सेलिब्रेटी बनेकी हुन् । हरेक ठाउँमा उनको चर्चा हुन्छ । उनीसँग फोटो खिच्नेहरू झुत्तिन्छन् । ‘ओहो ! देउराली भन्दै आइपुग्छन्, आफैलाई अप्ठ्यारो लाग्छ’ –उनले भनिन् ।

लेखकः भाेजराज श्रेष्ठ

२५ वर्षअघि टाकुराको नाम रेडियोबाट सुनिन् । नेपालको पहिलो महिला आरोही पासाङल्हामु शेर्पाका कारण । शेर्पाको मृत्युको खबर रेडियोले फुकिरह्यो । उमेरले त्यही १० वर्ष हुनुपर्छ । आमाको मुखबाट निस्किएको एउटा वाक्य ‘मान्छेको जुनी अजम्बरी छैन, यो शेर्पेनी चाहिँ अजम्बरी भयो है’ ले उनलाई खिचिरह्यो निरन्तर निरन्तर । त्यो उमेरमा उक्त वाक्यको अर्थभेद खुट्याउँदिनथिन् । तर, मनमा बसिरह्यो ।
जान पाए त ? भन्ने मनमा लाग्थ्यो । तर, कसरी ? उनीसँग त्यसको यथेष्ट जवाफ थिएन । जब आफूलाई बुझ्ने भइन् र पनि उनीसँग टाकुरा चढ्ने भरपर्दो माध्यम थिएन । पारिवारिक अवस्था सामान्य भएकाले अत्यधिक खर्च लाग्छ भन्ने थियो । जसले गर्दा टाकुराको सपना देख्ने कुरै भएन । तर २००८ समावेशी १० महिलाले टाकुरा चढेको उनले थाहा पाइन् । त्यसपछि टाकुरा चढ्ने हुटहुटी जाग्यो । ‘समावेशी महिला चढेपछि चढौं–चढौं लाग्यो’ –उनी सुनाउँछिन् ।


एकवर्षपछि अर्थात् सन् २००९ मा सगरमाथा चढेका इन्द्र राई वाहिङसँग सगरमाथा चढ्ने ‘आइडिया’ लिन थालिन् । ‘समावेशी महिला चढेपछि म चढ्छु भन्ने भएर वाहिङलाई भेटियो’ –उनी थप्छिन् । त्यो बेला उनले सगरमाथा जाने, खर्चका विषयमा बुझ्ने मौका पाइन् । तर सुन्दै जाँदा अत्यधिक खर्च हुने थाहा पाएपछि मनमनै हरेश पनि खान्थिन् । ‘खर्च चाहिँ मेरो बुताले नभ्याउने जस्तो लाग्थ्यो’ –उनी भन्छिन् ।
सगरमाथा चढ्नका लागि आफ्नो तर्फबाट दुःख गरिरहिन् । सगरमाथामा चढ्ने लुगा, काँडावाला जुत्ता, विभिन्न सामग्रीले उनको मन भने लोभ्याइरहन्थ्यो । कस्तो होला ? भन्ने मनमा लागिरहन्थ्यो । ‘त्यही बीचमा रेडियोले फुक्यो, सगरमाथा जानेको टिम बन्दै छ’ उनले सुनाइन्, ‘त्यो टिम खोज्दै पुगेँ ।’ सञ्चारकर्मी भएकाले पनि पत्रपत्रिका, रेडियो, टेलिभिजनका समाचारबारे दैनिक ‘अपडेट’ हुन्थिन् । त्यही क्रममै नै रेडियोबाट आएको जानकारीले उनलाई सगरमाथामा पाइला टेक्ने गतिलो माध्यम बनाइदियो । सारथि भेट्टाइदियो ।
पाँच महिला पत्रकारहरू सगरमाथा चढ्ने टुङ्गो लाग्यो । त्यसैमध्येकी देउरालीको २५ वर्षअघि गरेको प्रश्न ‘जान पाए त ?’ भन्ने भित्री सदिच्छा पूरा गरिदियो । २०१८ उनको लागि सगरमाथाको टाकुरामा पुग्ने वर्ष बनिदियो । भनौं ‘देउराली’ नामको सार्थकताको वर्ष । सेलिब्रेटीको वर्ष । टाकुराले उचाइ दिएको वर्ष । पहिचान दिएको वर्ष । तर, त्यही टाकुरा चढ्दाको पीडादायी अनुभव भने मनमा अविस्मरणीय बनेर बसेको छ ।
टाकुरामा चढ्ने पक्कापक्की भएपछि सन् २०१७ को नोभेम्बरमा २५ दिन ५ हजार ९ सय २५ मिटर उचाइको रामदुङ र ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ हिमाल तालिम लिइन् । यो दोलखा जिल्लामा पर्छ । ‘सगरमाथा चढ्न ६ हजार मिटर उचाइको हिमाल चढ्नै पर्दो रहेछ’ उनी सुनाउँछिन्, ‘त्यसपछि मात्रै सरकारले मान्यता दिँदो रहेछ ।’ सगरमाथा चढ्न हिँडेका उनीहरू दैनिकजसो तालिम लिन्थे । शेर्पाहरूले तालिम दिन्थे । उनीहरूको सहयोगमा दैनिक बेसक्याम्पसम्मको तालिम हुन्थ्यो ।
काठमाडौंदेखि लुक्लासम्मको हवाईमार्ग सहज थियो । तर, लुक्लादेखि बेसक्याम्प पुग्न उनीहरूको टोलीलाई ९ दिन लाग्यो । त्यहाँ पनि केही दिनको तालिम चलिरह्यो । बेसक्याम्पदेखि पहिलो क्याम्प, दोस्रो क्याम्प, तेस्रो र चौथो क्याम्पहुँदै सगरमाथाको चुचुरोमा पाइला टेक्न उनलाई ठ्याक्कै १२ घण्टा लाग्यो । चुचुरोमा पुग्दा उनले पहिलो पटक आमालाई स्मरण गरिन् । टाकुरामा पुग्दा खुसीका आँशु खसे । नेपाल पत्रकार महासङ्घबाट प्रतिनिधित्व गरेका उनीहरूले महासङ्घको ब्यानर, राष्ट्रिय झण्डा फहराए । देउरालीले धरानको नक्सासमेत प्रदर्शन गरिन् ।
पाँचथरमा जन्मिएकी उनी धरान–९ की रैथाने हुन् । धरानको शिक्षा सदनबाट एसएलसी दिएकी उनले २०५६ सालमा ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता शुरु गरेकी थिइन् । तीनवर्ष ब्लाष्टमै रहेर काम गरिन् । त्यसपछि स्वतन्त्र रूपमा कलम चलाइरहेकी छन् । यही क्रममा चुचुरोमा पुगेकी उनले त्यहाँबाट सबै–सबै हिमाल तल देखिन् । घाम पनि तल देखिन् । जीवनमा पहिलो पटक घामलाई उनले तल देखिन् । उनले त्यहाँबाट केवल सेताम्मे हिमालभन्दा अर्को कुनै कुरा देखिनन् । चुचुरोमा पाइला हालेपछि पनि भोलि के होला भन्ने डरको अन्त्य भएन ।
चढ्दा पनि मान्छेका लासहरू छिचोल्दै चढ्नु पर्ने । ओर्लंदा पनि । कतिपयको अक्सिजनको सिलिण्डर हराउँथ्यो । उनले पनि चढ्ने क्रममा ट्राफिक जामले गर्दा अक्सिजन सकिएको पीडादायी अनुभव बटुलिन् । मानौं, त्यो सपना हो । विपना त्यस्ता हुँदैनन् । तर, देउरालीले भोगिन् त्यो विपना । ‘चढ्ने क्रममा मेरो अक्सिजन सकिँदै गएको रहेछ । अलि–अलि अनुभूति हुन्थ्यो । शेर्पा गाइडले हिँड्न गाह्रो भएको महसुस गर्नुभएछ । उहाँ मबाट केही छुट्टिनुभएको थियो’ त्यो पीडा उनले सुनाइन्, ‘पछि मलाई एकदमै गाह्रो भयो । आँखा ट्याप्प टालिएजस्तो भयो । टिभी झ्यार्र भएजस्तै मेरो आँखा पनि त्यस्तै भयो । पछि शेर्पा गाइडले सिलिण्डर चेञ्ज गरिदिएपछि मात्रै बाँच्न सफल भएँ । नत्र त्यहीँ मेरो प्राण जान्थ्यो होला ।’
यस्ता अनेकन पीडा भुल्दै चुचुरोमा पाइला टेकेकी देउरालीलाई सगरमाथा चढ्दाको ऋण उस्तै गरी गढेको छ । सगरमाथा चढ्दा प्रतिव्यक्ति ३५ लाख रूपैयाँ खर्च लागेको उनी बताउँछिन् । जसमध्ये २५ लाख रूपैयाँ ऋणको भार उनको टाउकोमा छ । प्रायोजकको सहयोगले १० लाख रूपैयाँ त जसोतसो तिरिन् । बाँकी ऋणका लागि प्रायोजक पनि भेटेकी छैनन् । त्यसको खोजीमा छिन् उनी । तर कतिपय प्रायोजकले तपाईलाई किन दिने ? भन्दै प्रश्न गर्छन् । उनी भन्छिन्, ‘के गर्ने ? चढिसकेपछि ऋण तिरिदिने भेटिँदैन रहेछन् । बरू शुरुमै भेट्न सकिँदो रहेछ ।’
कतिपयले खाजा खर्च कटाएर पनि सहयोग गरेका छन् । उनीहरू देउरालीको नजरमा धन्यवादका पात्र हुन्, जसले देउरालीका लागि खाजा खर्च कटाए । ५२ जिल्ला घुमेकी आरोही देउरालीको नजरमा सगरमाथा चढ्नु भनेको ‘लडाइँमा गएको सिपाही जस्तै हो । फर्किन पनि सक्छ, नफर्किन पनि सक्छ ।’ तर उनी मानसिक रूपमा तयार थिइन् । सायद, २५ वर्षअघिको आमाको वाक्यांशले उनलाई हिम्मती बनाएको थियो ।
सगरमाथा चढेर फर्किएपछि उनलाई अहिले लाग्छ ‘अक्सिजन बिना सगरमाथा चढ्न सकिएला । तर, शेर्पा बिना सगरमाथा चढ्न असम्भव नै छ ।’