बिर्तामोड/ आश्मा फिल्मसकाे ब्यानरमा निर्मित पहिलो चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रका कलाकार, निर्माता, निर्देशक सहितको टोली अहिले चलचित्रको प्रचार प्रसारका लागि देश दौडाहमा रहेको छ ।  प्रचारका लागि झापा आएको निर्माता निर्देशक सहितको कलाकारको टोलीले झापाका पत्रकारसँग अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तक्रियामा नेपाली चलचित्र, अहिलेको ट्रेण्ड तथा दर्शकको रोजाईको विषयमा चर्चा भएको थियो । चलचित्र ब्ल्याकले देशव्यापी  रुपमा प्रचार प्रसारमा सक्रिय हुने जनाएको छ ।  ‘चलचित्रले जिन्दगीका रंगहरुको ब्याख्या गरेको छ, निर्देशक प्रदिप श्रेष्ठले भने–‘जन्मदादेखिको संघर्ष र अन्त्यसम्मलाई यस चलचित्रको कथाले समेट्ने प्रयास गरेको छ ।’ जिन्दगीमा कालो रंगको भुमिका यसमा बढी चर्चा गरिएको उनले बताए । श्रेष्ठले चलचित्र ब्ल्याक पुर्णरुपमा व्यवसायिक चलचित्र बनेको बताए । प्रेम कथामा आधरित पुर्ण रुपमा पारिवरिक चलचित्र निर्देशन गरेको दावी उनले गरे । मौनता श्रेष्ठको कथामा बनेको चलचित्र सफल हुनेमा निर्माण पक्ष आशावादी देखिएको छ ।

‘सबैको जिन्दगीमा उतार चढाव आँउछ, निर्माता आश्मा पाण्डेले भनिन्–‘उतार चढाव सामना गरेर अघि बढ्न चलचित्रले प्रेरणा दिन्छ । अघि बढ्न नसक्नेहरु डिप्रेसनमा जान सक्ने खालका पटकथाहरु चलचित्रमा समेटिएका छन् , पाण्डेले भनिन्–‘ २ करोड बढी लगानी भएको छ, त्यो लगानी उठ्ने नउठ्ने भन्दा पनि समाजमा भइरहेका घटना विश्लेषण गरेर चलचित्र निर्माण गरिएका कारण एउटा सकारात्मक सन्देश यस चलचित्रले दिने छ भन्ने आशा छ ।’  नायिक आँचल शर्माले संघर्षको बीचमा बाँचिरहेको मानिसको कथालाई आफुहरुले पर्दामा उतार्न कुनै कन्जुस्याँइ नगरेको बताइन् । उनले अन्य चलचित्रभन्दा निक्कै मेहेनत गरेर अभिनय गरेको हुनाले यो चलचित्र सफल हुने दाबी पनि गरिन् ।  नेपालको उपल्लो मुस्ताङ, मुक्तिनाथ, पोखरा, स्याङजा, काठमाण्डौ र सिन्धुलीका केही स्थानमा छांयाङकन भएको चलचित्र ब्ल्याकमा अहिलेका जल्दा बल्दा नायिका आँचल शर्मा, नायक आकाश श्रेष्ठ, सुन्दर श्रेष्ठ, आयुस रिजाल, धिरेन शाक्य, प्रियंका रिजाल लगायतले अभिनय गरेका छन् ।