एजेन्सी/ साउदी अरबले रियादमा रहेका क्यानाडेली उच्चायुक्तलाई देशनिकाला गर्दै टोरन्टोमा भएका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । साउदीले क्यानडासँगको सबै नयाँ व्यापार र लगानीमा पनि रोक लगाइदिएको छ । रियादमा पक्राउ गरिएका नागरिक अधिकार कार्यकर्तालाई रिहा गर्ने माग क्यानडाले राखेपछि रिसाएर साउदी अरबले यो कदम चालेको हो । यो माग आफ्नो आन्तरिक विषयमा क्यानडाको हस्तक्षेपका रूपमा साउदीले लिएको छ । साउदीले क्यानाडेली उच्चायुक्तलाई देश छोड्नका लागि २४ घन्टाको समय दिइएको छ । साउदीको यो कदम मोहम्मद बिन सलमानको आक्रामक परराष्ट्रनीतिको नमूना मानिएको छ ।

हालै साउदी अरबले ठूलो कारवाही अन्तर्गत नागरिक अधिकार कार्यकर्तालाई जेल हालिदिएको थियो । क्यानडाले यी कार्यकर्तालाई तत्कालै रिहा गर्ने माग राखेको थियो । अघिल्लो हप्ता क्यानडाले साउदीमा महिला र मानवअधिकार कार्यकर्ता धमाधम पक्राउ पर्नु चिन्ताजनक रहेको बताएको थियो । पक्राउ परेका कार्यकर्तामा पुरस्कृत लैंगिक अधिकारकर्मी समर बादवी पनि छिन् । बादवीलाई उनकी सहयोगी नसीमा अल–सदाहसँग अघिल्लो हप्ता पक्राउ गरिएको थियो । साउदी सरकारले हालैका दिनमा महिला अधिकार कार्यकर्तामाथि कारवाही गरेको छ । साउदीको परराष्ट्र मन्त्रालयले क्यानडाको बयानमाथि रोष व्यक्त गर्यो ।