धनकुटे यात्रा !

भाेजराज श्रेष्ठ

‘जीवन यात्रा हो, जन्मेदेखि प्राण नत्यागेसम्मको यात्रा’ यस्तै सुन्छु अधिकांश अग्रजहरूबाट । यात्राको अर्थ यतिमै सीमित छैन । वस्तुवादी भएर हेर्ने हो भने यात्रा नयाँ चिजको आश्वासदन गर्नु मात्रै हैन, त्यहाँका पर्यावरणीय वस्तुको प्रत्यक्ष अनुभव गर्नु पनि हो । नजिकबाट हेर्नु पनि हो । त्यसलाई वस्तुवादी भएर सोच्नु पनि हो ।
म यात्राप्रेमी मान्छे । यात्रा गर्न रुचाउँछु । तर सबै यात्रा सुखद् हुँदैनन् । सबै यात्रा दुखद् हुँदैनन् । कतिपय यात्राहरू रमाइलाका लागि गरिन्छन् । कतिपय यात्राहरू बाध्यताले डो¥याउँछ । बाध्यताका यात्रा जीवन अगाडि बढाउने कसी हो । त्यो नगरी सुखै छैन । रमाइला यात्राहरू पनि जीवनलाई अगाडि बढाउने अस्त्र नै हुन् । यात्राका रमाइला किस्सा पनि हुन्छन्, नरमाइला क्षणहरू पनि हुन्छन् । सानैदेखि नयाँ ठाउँ घुम्न रुचाउने मान्छे । तर घुम्नका लागि पुग्दो थिएन । आम नेपाली घुम्नकै लागि पैसा छुट्याउँदैनन् । त्यही आम नेपालीमध्येको म पनि एक हुँ ।
तर अहिले धेरै नेपाली घुम्नका लागि अभ्यस्त भइसके । नेपालमा मात्रै हैन, विदेशसम्म घुम्न थालिसके । घुम्ने संस्कृति नेपालीमा पनि भित्रिएको छ । सायद विदेशीले हामीलाई सिकाए होलान् । राम्रो कुराको नक्कल गर्नु फाइदाजनक नै हो । यही डुलाइले हाम्रा देशका सुन्दर स्थानहरू पनि यतिखेर आन्तरिक पर्यटकले भरिने गरेका छन् । हाम्रा देशका सुन्दर बस्तीहरू, नदीनालाहरू, हिमाल, पहाडहरूमा नेपालीले नै भरिभराउ हुन थालेका छन् ।
विदेशी पर्यटक नेपालमा वार्षिक ५ देखि ७ लाख त आउने हुन् । त्यो बाहेक अहिले त हामी नै हाम्रा क्षेत्रहरू नियाल्न थालेका छौं । अवलोकन गर्न थालेका छौं । मेरो जीवनमा पहिलो घुमाइ कक्षा ८ पढ्दा भयो । घुम्नकै लागि भनेर निस्किएको त्यो पहिलो घुमाइ अहिले पनि मनमा ताजै छ । गन्तब्य थियो, धनकुटा र हिले । छिमेकी साथी र म । उमेरले अग्रज भए पनि एउटै कक्षामा पढ्ने हामी अन्त्यन्तै मिल्ने साथी । गन्तब्यमा पुग्नु अघि नै काल्पनिक संसारमा रमाउथ्यौं । रात–रातभर गन्तब्यका बारेमा सोच्थ्यौं । दिमाग कल्पनशील हुन्थ्यो । मानौं, त्यो बेला हाम्रो दिमाग सबैभन्दा बढी चलेको छ ।
सायद यात्रा गर्नुअघिको रमाइलो त्यही होला । त्यसलै कतिपय यात्राहरू त्यसै–त्यसै रमाइला हुन्छन्, जति नै कष्टकर भए पनि । कक्षा ७ उर्तीण भएपछि मेरो परिवारले यात्राका लागि अनुमति दिएको पहिलो गन्तब्य हो धनकुटा । हाम्रो पुख्र्यौली धनकुटा नै हो । तर धनकुटाको बारेमा अनभिज्ञ थिएँ । पढेअनुसार सामान्य जानकारी थियो धनकुटाका बारेमा । प्रसस्तै सुनिएको पनि थिएन् । म मधेशमै जन्मिए, हुर्किए । हाम्रा बाजेकै पालामा धनकुटा छाडेर बसाइ दमक झर्नु भएको थियो ।

लेखकः भाेजराज श्रेष्ठ

दमकबाट पनि छुट्टिएर मेरो परिवार बयरवन गाविस (हाल कानेपोखरी गाउँपालिका) वडा नम्बर ३ हरकपुरमा बस्थ्यौं । सानैदेखि मधेशको परिवेशमा हुर्किएकाले पहाडको नाम सुन्दा नै मन रोमाञ्चित हुन्थ्यो । उकाली, ओराली गर्नुको आनन्द । हिँड्नु, त्यसमा पनि यात्रामा । त्यसै–त्यसै आनन्द लाग्थ्यो । धनकुटा जानका लागि घरबाट पूर्ण अनुमति नभए पनि छोराका लागि भनेर ५ सय रुपैयाँ दिनुभयो । त्यही पाँचसय मेरो पाँचदिने बसाइको लागि खाने, बस्ने र गाडी खर्च थियो । साथीसँग के कति थियो, त्यसविषयमा अनभिज्ञ थिएँ । यात्राको पहिलो दिन धरान आइपुगियो । मेरा आफन्तहरू प्रसस्तै भएकाले धरानमा खानबस्नका लागि खासै गाह्रो थिएन । दोस्रो दिन बिहानै धनकुटाका लागि बस चढियो । पहिलो पटक उकाली–ओरालीमा बस यात्रा साह्रै आनन्दित थियो मन । हालको धनकुटा अहिलेको अवस्थामा थिएन । तर प्रशस्तै सरकारी कार्यालय र अड्डा भएकाले धनकुटामा चहल.–पहल अत्यधिक थियो ।
विद्यार्थीहरू त्यही आएर अध्ययन गर्थे । शिक्षा सङ्कायको लागि एकमात्रै पूर्वाञ्चलको क्याम्पस पनि धनकुटा क्याम्पस मात्रै थियो । धेरै विद्यार्थीहरूको गन्तव्य थियो धनकुटा । सरकारी कामकाजका लागि पनि धनकुटा पुग्नै पथ्र्यो । अधिकांश कार्यालय भएकाले धनकुटा त्यो बेला एकप्रकारले उदीप्त थियो । राणाकालदेखिको अड्डा भएकाले र अधिकांश सरकारी कार्यालय भएकाले पनि धनकुटाको पहिचान नै बेग्लै थियो । मैले त्यो विषयमा त्यही पुगेर जानकारी पाएको थिएँ । सानै भएकाले कतिपय कुराहरूको जानकारी हुँदैनथ्यो । तर, रेडियो नेपालबारे जानकार थिएँ । रेडियो सुन्दा देब्रेबास धनकुटा भनेको सुनेकैले रेडियोको कार्यालय त्यहाँ छ भन्ने थाहा पाएको थिएँ । क्याम्पसको बारेमा त्यहीँ पुगेरै थाहा पाएको थिएँ । घुम्ने क्रममा सल्लेरीतिर युवायुवतीहरू पढ्दै गरेका पायौं । एकान्तमा चिसो हावासँग कावा खाँदै पढ्ने विद्यार्थीको कमी थिएन त्यहाँ । गर्मी ठाउँबाट धनकुटा पुग्दा चिसोले मेरो मन पनि फुरुङ थियो । पहिलो पटक घुम्न पाउँदा अर्को आनन्द थियो । कस्तो होला ? धनकुटा भन्ने जिज्ञासा आंशिक रूपमा मेटिएको थियो ।
धनकुटा पहाडको मात्रै प्रतिनिधित्व गर्दैन थियो । पूर्वाञ्चलकै प्रतिनिधित्वि गर्ने भएकाले पनि धेरैको लागि केन्द्र थियो । त्यो बेला सर्सर्ती हेर्नु भन्दा अर्को मनमा नयाँ अभिलाषा थिएन । ज्ञान विना गरिएको यात्रा बिल्कुल घुमाइ मात्रै थियो । पहिलोपल्ट घुम्न निस्किएका दुई बबुरोलाई कहाँ बस्ने, के गर्ने भन्नेसम्मको ज्ञान थिएन । साथी उमेरमा जेठो भएकाले उसैले सबै प्रबन्ध मिलाउँथ्यो । धनकुटामा एक रात होटल बसाइपछि उक्लियौं हिलेतर्फ । हिले धनकुटाभन्दा अत्यधिक चिसो थियो । अहिलेको जस्तो बाक्लो घरहरू थिएनन् । कङ्क्रिटका घरहरू थिएनन् । थियो त, केवल पहाडी संस्कृतिमा बनाइएका घर । छिटफुट मात्रै थिए पक्का घर । हुँदो खानेका घरमा जस्तापाताका छाना टल्किएका थिए । अधिकांश फुसकै छानाका थिए ।
अत्यधिक चिसो हुने भएकाले हिलेबासी सम्साँझै ओछ्यान–ओछ्यानमा पुगिसकेका हुन्थे । त्यहाँ भने हाम्रो बसाइ होटलमा थिएन । साथीको कान्छो भेना शिक्षक थिए । उनी विगत केही वर्षदेखि हिले नै बस्थे । र, त्यहीँको विद्यालयमा पढाउँथे । गणितमा निपुण शिक्षक थिए उनी । किनकी उनको अध्यापकीय शैलीबारे म पनि जानकार थिएँ । हामी पढ्ने स्कुल शिक्षा सदनमा उनले पनि पढाएका थिए । पढाउने शैली पनि गज्जबको थियो । तर पछि प्रसङ्गवश छिमेकी भेना पर्न गए । उनैकोमा बसेर हामी तीन दिन हिलेका कुनाकाप्चा बरालियौं । कहिले आर्मी क्याम्पको पूर्वतर्फको भाग पुग्थ्यौं, कहिले उत्तरपाने जाने बाटो पुग्थ्यौं । तर पनि त्यो बेला उत्तरपाने पुग्ने अवसर भने जुरेन । पाख्रीबास भने पुग्यौं । पाख्रीबास घुम्दा धेरै कुरा सिकियो । त्यहाँका फूलबारी देखेर, घरको सजावट देखेर मनै आनन्द हुन्थ्यो ।
विभिन्न प्रजातिका फूलहरू पहिलो पल्ट देखेको त्यही बेला हो । फूलबाट पनि आम्दानी लिन सकिन्छ भन्नेबारे जानकारी पनि त्यहीँ पाइयो । त्यहाँ फूल किन्नका लागि धेरै ठाउँबाट मानिसहरू पुग्दा रहेछन् । दैनिक फूल बिक्रीबाट मात्रै पनि पाख्रीबासले राम्रै आम्दानी लिँदो रहेछ । हाम्रा गाउँघरमा फूलको नर्सरी लगाएर व्यापार गर्ने हो भने दैनिक आम्दानी लिन सक्छौं । तर त्यसतर्फ हाम्रो ध्यान जान सकिरहेको छैन । नेपालमा वार्षिक विदेशबाट तिहार तथा त्यस्ता पर्वका बेला २ करोडभन्दा बढीको फूल आयात गर्छौं । तर हामी आफैले उत्पादन गर्नेतर्फ ध्यान दिँदैनौं । हामी व्यवसायिक बन्न सकिरहेका छैनौं । राज्यले पनि किसानलाई यसतर्फ अभिप्रेरित गरेको पाइँदैन ।
बरू २ करोडको फूल भिœयाउन राज्य तयार छ । तर किसानलाई फूल खेती गराउन राज्य तयार छैन । राज्य किसानप्रति अनुदार छ । सीमित क्षेत्रमा किसान तथा संस्थाले फूलको कारोबार गर्ने गरेका छन् । पाख्रीबासले फूल बेचेको थाहा पाउँदा त्यस्तै ठाउँहरू पहिचान गरेर राज्यले यस्ता व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्छ । त्यो बेला फूलको रङ्गविरङमा रमाइयो । थरीथरीका फूल देखेर आनन्दित भइयो । एकदिने पाख्रीबास डुलाइले धेरै कुरा सिकायो । सायद यात्रा यसैलाई भनिन्छ होला । केही कुरा सिक्ने र केही कुरा जान्ने । त्यसैले पनि यात्राले वस्तुवादी हुन सिकाउँछ । यात्रामा काल्पनिकता हुँदैन । जे यथार्थ हो त्यो अनुभूति हुन्छ । सतही ज्ञान मात्रै हैन, यात्राले वस्तुगत ज्ञान पनि दिन्छ । हो ! यात्रा हरेक दिन हुन्छ । कहिले नजिक, कहिले टाढा । त्यस्ता यात्राले कतिपय अवस्थामा आनन्दित बनाउँछ, कतिपय अवस्थामा दुःखित । सायद यात्राका पनि भेदहरू होलान् । निरन्तर चलिरहने यात्राको एउटा परिभाषा होला । कहिलेकाहीँ गरिने यात्राको परिभाषा फरक होला । जीवनसँग जोडिएको यात्रा बाध्यात्मक होला । यात्राका लागि गरिने यात्रा रोमाञ्चित होला । आखिर सबै अनुभव न हो, जीवन सिकाइको अनुभव । नश्वर शरीर भइञ्जेल गरिने अनन्तकालीन यात्रा ।

ताजा अपडेट