समय धेरै नै गतिशील छ । सूचना र प्रविधिको समय छ । डिजिटल समय छ । सबै मानिसहरू यही डिजिटल एप्समा व्यस्त छन् । समयले ल्याएको प्रविधिसँग साक्षात्कार हुनु पनि आवश्यक पनि छ । होइन भने डाइनोसरजस्तो अस्तित्व नै सकटमा पर्दै जानेछ । तर व्यस्तताका बावजुद पनि एउटा अभिभावकको हैसियतले आफ्नो परिवारको देखभाल गर्ने जिम्मेवारीलाई कहिले पनि नकार्न सकिँदैन । यस्तै मध्येका एक हो बच्चामा अटिजम समस्या । यो लेख तयार गरिञ्जेल धेरैलाई जिज्ञासा राख्दा अनविज्ञता प्रकट गरेको पाएँ ।

हाम्रो समाजमा अटिजम जनचेतना अपरिहार्य छ । आफ्नै घर परिवारमा पनि यस्तो समस्या हुनसक्छ । यस्ता समस्या विद्यालयमा पनि हुनसक्छ । तर यसलाई समयमै पत्ता लगाएर फरक ढङ्गले शिक्षण सिकाइ गराउन सकिन्छ । जसको लागि हरेक अभिभावक र शिक्षक शिक्षकामा सचेतना अपनाउन जरुरी छ । अटिजम पत्ता लगाउन आफ्ना बच्चाको विभिन्न पक्षहरू सुक्ष्म अध्ययन गर्न जरुरी छ । बच्चाको आनीबानीको ख्याल राख्न जरुरी छ । जस्तै आफ्ना बच्चाले किन अरुसँग खेल्दैन ? बच्चालाई बोलाउँदा किन हेर्दैन ? बच्चाले किन बोल्दैन ? कतै तपाईंको बच्चालाई अटिजम त छैन ? यस्ता विविध पक्षहरूको ख्याल राख्न आवश्यक छ ।

जस्तै अटिजम भएका बच्चालाई आफ्ना उमेरका बालबालिकाहरूसँग खेल्न रुचाउने छैन । बच्चालाई असान्दर्भिक कराइ वा रुवाइ हुने गर्दछ । प्रत्यक्ष आँखामा आँखा जुधाउन कठिनाइ हुन सक्छ । यस्तै आफूलाई घाउ, चोट तथा दुखाइप्रति वास्ता गर्ने छैन । अटिजम भएका बालबालिकामा प्रायः एक्लै बस्न रुचाउने गर्दछ । विभिन्न सामानहरू घुमाउन रुचाउने गर्दछ । वरिपरिको वातावरणसँग अनौठो लगाव हुन सक्दछ । अत्यन्त चञ्चलपना अथवा निस्क्रियपना बानी व्यहोरा समय–समयमा देखाउने गर्दछ । सामान्य वा साधारण शिक्षण विधिबाट सिक्न गाह्रो हुनेछ । अटिजम भएका बालबालिकालाई हरेक दिन एउटै वा उस्तै काम गर्ने रुची हुन्छ ।

[caption id="attachment_89673" align="alignleft" width="284"] लेखकः सुमन जबेगु[/caption]

यस्ता बालबालिकाले परिवर्तन मन नपराउने गर्दछन् । जस्तै एउटै रुटबाट हिडाउने र डुलाउने बानीलाई एक्कासी परिवर्तन गर्न खोज्यो भने उसले इन्कार गर्दछ । यस्ता समस्या भएको बालबालिकालाई डर नहुने तथा खतराको भय नहुने गर्दछ । यस्तै कल्पना गरेर खेल खेल्न नसक्ने हुने गर्दछ । असामान्य किसिमको तथा दोहो¥याई तेहे¥याई एउटै खेल खेलिरहन रुचाउने गर्दछन् । यस्ता प्रकारका बच्चालाई शब्द तथा वाक्यांश दोहो¥याइरहने गर्दछन् । कहिलेकहीँ अरूले छोएको तथा अँगालो हालेको मन नपराउने गर्दछन् । यस्ता बालबालिकालाई बोलाउँदा नबोल्ने साथै कहिलेकहीँ कान समेत नसुन्नेजस्तो भइदिने गर्दछ ।

आफ्ना आवश्यकताका सामान औँलाले नदेखाउने गर्दछन् । चाहिएमा ठूलो मानिसको हात समातेर देखाउने तर कुनै शब्द प्रयोग नगर्ने गर्दछन् । विना कारण रुने र कराउने गर्दछन् । यस्ता बच्चालाई चिन्ता हुने गर्दछ । वस्तुहरूप्रति अनौठो अमिल्दो लगाव हुने गर्दछ । यी माथिका लक्षणहरू आफ्ना बच्चाहरूमा देखा परेमा अटिजम भएको पुष्टि हुन सक्दछ । अटिजम न्युरो विकास क्रमको एक किसिमको विकृति हो । यो जीवनभर नै रहने एक अपाङ्गता हो । पछिल्लो एक अध्ययनको रिपोर्ट अनुसार प्रत्येक असीमा एक शिशु अटिजमको अवस्था लिएर जन्मने गरेको पाइन्छ । स्मरण रहोस् अटिजम मानसिक अपाङ्गता होइन ।

यो बौद्धिक अपाङ्गता पनि होइन तर चालिस प्रतिशत अटिजम भएका व्यक्तिहरूमा बौद्धिक कमजोरी हुने भन्ने चाहिँ पुष्टि भएको छ । कतिपय अभिभावकलाई आफ्ना बच्चाहरूमा यस्ता समस्या देखा परेमा लुकाउने छिपाउने गर्दछन् । लाज मान्ने गर्दछन् । तर यस्ता कदम कदापि बच्चाको लागि न्याय हुने छैन । जस्तोसुकै समाजको अगाडि किन नहोस् । आफ्ना बच्चामा यस्ता समस्याहरू आइपरेमा निर्धक्कसँग परामर्श लिन जरुरी छ । कुन तहको अटिजम हो पत्ता लगाएर सोहीअनुसार विशेष निगरानीमा शिक्षण सिकाइ प्रारम्भ गर्न जरुरी छ । कुनै पनि बच्चा निर्दोष हुन्छन् । कुनै पनि बच्चा अटिजम भएर जन्म लिन त पक्कै पनि चाहेको हुँदैन ।

सबैबाट यस्ता समस्या भएका बालबालिकाहरू साधारण बच्चा भन्दा धेरै माया पाउने अधिकार राख्छन् । यस्ता बच्चाहरूलाई बाल अधिकार संरक्षण तथा प्रबद्र्धनको लागि धेरै हक राख्छन् । यथार्थतामा आजको दिनसम्म अटिजमको रोकथामबारे कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै विधान पनि छैन । तर सही थेरापीद्वारा उनीहरुको अवस्थामा धेरै सुधार ल्याउन सकिन्छ । स्मरण रहोस् धरानको सन्दर्भमा भने धरान–११ मा सर्जु थापाद्वारा स्पेशल एजुकेशन सेन्टर स्थापना गरी यस्ता बच्चाहरुलाई शिक्षा शिक्षण एव हेरचाह गराउँदै आएको छ । सो सेन्टरद्वारा बच्चाहरूको अवस्थामा सुधार आएपछि समावेशी शिक्षा परियोजनाअन्तर्गत धरान–१६ स्थित जेनिथ हाई स्कुलमा भर्ना भई औपचारिक शिक्षा हासिल गर्दै आएको छ ।

नर्वेको एन्टिएनयू युनिभर्सिटीलेसमेत अटिजम सम्बन्धी ज्ञाताहरू बर्सेनी पठाएर सहकार्य एवम् सहयोग गर्दै आएको छ । नेपालको संविधान २०७२ को भाग ३, मौलिक हकको धारा ३९, उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ । यस्तै उपधारा–३ मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ । उपधारा–८ मा प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ । उपधारा–९ मा भने असाहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ । यस्ता संविधानमा समेत उल्लिखित बालबालिकासँग सम्बन्धित प्रावधानलाई आत्मासात् गर्न सक्नु सबैको कर्तव्य हो । हामी सबैले यस्ता बालबालिकाहरूको सम्मान, इज्जत र माया गरी मानवताको परिचय दिन सकौँ भन्ने मेरो आग्रह हो ।