अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले सार्वजनिक रुपमा छोराका बारेमा बोलेकी छिन् ।

लादेनकी आमा आलिया गानेमले साउदी अरेबियामा रहेको आफ्नो खानदानी घरमा ‘द गाजिर्यन’ लाई अन्तार्वार्ता दिएकी हुन् ।

आलियाले द गार्जियनसँग कुरा गर्दै ओसामा सानोमा ‘लजालु’ र ‘असल बालक’ भएको तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गरेर उनको विचार परिवर्तन गरिएको बताइन् ।

परिवारका अनुसार उनीहरुले अन्तिम पटक ओसामालाई सन् १९९९ मा अफगानिस्तानमा देखेका थियो । यो ठ्याक्कै सेप्टेम्बर ११ को घटना घट्नुभन्दा दुई वर्ष अगाडिको कुरा थियो ।

सुरुमा ओसामा सोभियत सेनाविरुद्ध लड्नका लागि अफगानिस्तान आएका थिए । तर सन् १९९९ सम्म उनी विश्वसामू एक संदिग्ध चरमपन्थीका रुपमा परिचित भइसकेका थिए ।

जब छोरा जिहादी लडाकु भएको थाहा भयो त्यति बेला कस्तो महसुस भयो भन्ने प्रश्नमा आलिया भन्छिन्, ‘हामी निकै चिन्तित थियौँ । म त्यस्तो नहोस् भन्ने नै चाहन्थेँ । उनी कसरी सबै तहसनहस गर्न सक्थे ?’

बिन लादेनको परिवार साउदी अरेबियामा सबैभन्दा प्रभावशाली परिवारमा गनिन्छ । निर्माण व्यवसायबाट लादेन परिवारले निकै सम्पत्ति जोड्न सफल भएको छ ।

बिन लादेनका बुवा मोहम्मद बिन अवाद बिन लादेनले आलिया गानेमसँग ओसामा जन्मिएको तीन वर्षपछि सम्बन्ध विच्छेद गरेका दिए । अवाद बिन लादेनका ५० भन्दा बढी छोराछोरी थिए ।

सेप्टेम्बर ११ पछि के भएको थियो ? सेप्टेम्बर ११, २००१ को आक्रमणपछि साउदी अरबले उनीसँग सोधपुछ गर्यो । उनलाई विदेशयात्रामा पनि रोक लगायो ।

गार्जियनका पत्रकार मार्टिन चुलोवलाई आलिया गानेमसँग कुराकानी गर्न यसकारण दिइयो कि साउदी अरब अलकायदाका नेता ओसामालाई सरकारी एजेन्ट नभएर बहिष्कृत व्यक्तिका रुपमा विश्वसामू चिनाउन चाहन्छ ।

बिन लादेनका भाइ हसन तथा अहमद पनि अन्तर्वार्ताको क्रममा आमासँगै थिए । उनीहरुले सेप्टेम्बर ११ को घटनामा ओसामाको हात रहेको सुनेपछि छाँगाबाट खसेझै भएको बताए ।

अहमद भन्छन्, ‘परिवारका सबै सदस्य उनको हर्कतले गर्दा लज्जित थियौँ । हामी सबैलाई थाहा थियो कि यसको परिणाम भयानक हुनेछ । हाम्रो परिवार विश्वका जुनसुकै कुनामा थियौँ, सबै साउदी फर्कियौँ ।’

उनकी आमा सेप्टेम्बर ११ को घटनामा ओसामा मात्रै होइन, उनीसँग जोडिएका अरु व्यक्तिको पनि संलग्नता रहेको बताउँछिन् ।