‘कायरा’ लाई वर्ष २०७५ को प्रतिक्षीत फिल्मको रुपमा लिइएको छ । चकलेटी ब्वाई आर्यन सिग्देल र अहिलेकी डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण पनि फिल्मप्रति दर्शकको चासो बढेको छ ।

गीतसंगीत र ट्रेलरले फिल्मको हाइप मेन्टेन गरिरहँदा आर्यन र साम्राज्ञी प्रचार-प्रसारमा पनि उतिक्कै खटिरहेका छन् । यसअघिका फिल्ममा यी दुईलाई यो रुपमा प्रचारमा दौडिएको देखिएको थिएन । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कायरा’ को प्रचारका लागि अहिले यो जाेडी मोफसल दौडाहामा छन् । पोखरा हुँदै सोमवार चितवन पुगेका उनीहरुले पत्रकारसँग फिल्मको विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरे । पत्रकारको प्रश्नमा अभिनेता सिग्देलले फिल्मको छायांकन फिलिपिन्समा गरिनुको कारण खुलाए ।  उनी भन्छन्, 'मैले मायामा संघर्ष गरेर पनि असफल पात्रको भूमिका निभाएको छु । मायामा प्रायः असफल भएपछि यो ठाउँ र यो ठाउँसँग बसेको मायाबाट भाग्नका लागि ऊ नेपालबाट काहिं जानु पर्ने हुन्छ । त्यसैका लागि ऊ फिलिपिन्स जान्छ । फिलिपिन्स नै जानु पर्ने थिएन तर दर्शकलाई फ्रेस लोकेशन दिउँ भन्नका लागि गएका हौं ।' सबै कुरामा भाग्यमानी भएपनि मायाको कुरामा आफूले निभाएको पात्र अभागी रहेको आर्यनले बताए । कायरा र जयको प्रेममा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ । बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘कायरा’ मा परिस्थिति, चरित्र र क्यारेक्टरको आउटलुक फरक रहेको उनको भनाई छ ।