धरान । काठमाडाैबाट युएइकाे दुबर्इ जान तयारी अवस्थामा रहेकाे फ्लाइ दुबर्इकाे जहाजका क्याप्टेन नासिद हुसेनले मापसे गरेपछि उडान भर्न लागेकाे जहाजकाे उडान राेकियाे ।

फ्लाइ दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००’ सिरिजको १ सय ७४ सिट क्षमतायुक्त उक्त जहाज कमान्ड गरेर दुबई लैजान क्याप्टेन नासिद हुसेन एक घन्टा अघि त्रिभुवन विमानस्थल आइपुगे। तर, उनको हिँडाइ र बोलाई ‘लरबरिएको र असामान्य’ थियो।

त्रिभुवन विमानस्थलमा काम गर्ने फ्लाइ दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’ हरूले जहाज कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ (मापसे) गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने’ भन्दै निवेदन दिन्छन्।

त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाइ दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकोमा पुग्छन्। क्षेत्रीले सबै कुरा बुझेपछि उड्डयन सुरक्षा नियमअनुसार कारबाही अगाडि बढाउन निर्देशन दिन्छन्।

उनको निर्देशनपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको उड्डयन सुरक्षा विभागका इन्जिनियरको एक टोली तुरुन्त विमानस्थल पुग्छ। र, विमानस्थल प्रहरीको उपस्थितिमा फ्लाइ दुबईका क्याप्टेन हुसेन र कोपाइलटको मुखमा ‘ब्रेथलाइजर’ राखेर फुक्न लगाउँछ।

‘क्याप्टेन हुसेनले ब्रेथलाइजरमा फुक्दा मादक पदार्थको मात्रा देखियो,’ उड्डयन सुरक्षा विभागका एक अधिकारीले बिहीबार नागरिकसँग भने, ‘तर, कोपाइलटले भने मादक पदार्थ सेवन गरेको पाइएन।’

उनका अनुसार ब्रेथलाइजरबाट पनि चित्त नबुझेपछि क्याप्टेन र कोपाइलट दुवैलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो। अस्पतालको परीक्षणपछि क्याप्टेन हुसेनले अत्यधिक मदिरा सेवन गरेको र कोपाइलटले सेवन नगरेको पुष्टि भयो।

‘क्याप्टेनले जहाज उडाउनुअघि मदिरा सेवन गरेको अस्पतालबाट पुष्टि हुनासाथ हामीले फ्लाइ दुबईको दुबईस्थित मुख्यालयमा घटनाबारे सबै जानकारी गरायौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीले नागरिकसँग भने, ‘उताबाट क्याप्टेनलाई जहाज उडाउन नदिनू, हामी अर्को चालकदल र जहाज लिएर आउँछौं भनेपछि त्यो उडान रोक्यौं।’