माया सम्झी सम्झी रुन्छौं बेकारमा । कसम खाँदै ढुङ्गा, छुन्छौं बेकारमा......

शब्द खेलाउन माहिर पत्रकार सुविद गरागाईले तिनै शब्दलाई गुथेर गजल बनाए । अनि सङ्गीत भरेपछि गायिका बबिना भट्टराईको स्वरमा उनै गुरागाई का शब्दले दर्शकदीर्घालाई चकमन्न बनायो । शिक्षण पेशा भ्याएर पनि पत्रकारितामा छुट्टै पहिचान बनाएका गुरागार्ईको प्रतिभा शुक्रबार साँझ इटहरीमा फरक पहिचान बनाउँदै पोखियो । लाग्थ्यो शब्द गुथेर गजल सिर्जना गर्न नै उनले सादगी प्राप्त गरेका छन् । ‘सर्जकले कलात्मक र दुरुस्तै सिर्जना तयार गर्नु उसको धर्म हो’ गुरागाईको बारेमा कवि मनु मञ्जिलले भने, ‘कता कता बहुला बहुला खालका शब्द गुथ्ने गुरागाईको कलाले उनका गजललाई झन् दरिलो बनाएको छ ।’ गुरागाईको गजल सङ्ग्रह जुनको आगोको होम–लञ्च आफैमा फरक प्रस्तुति थियो । नौ वटा गजलका सेरमा सङ्गीत भरेर गायक गायिकाले स्वर थप्दा इटहरी बैङ्कट हलमा शुक्रबार साँझ दर्शकले दुईघण्टा समय बितेको पत्तै पाएनन् । जानी नजानी माया लाएको तिम्रै लागि त हो नि रहर रहरमै दुःख पाएको तिम्रै लागि त हो नि... यिनै शब्दमा जब गायक दुर्गा पराजुलीले स्वर भरे, दर्शकको आँखा सुविदकी धर्मपत्नी बबिता गुरागाईको नजरमा तेर्सियो । सिर्जनालाई कलात्मक र दुरुस्तै बनाउनु स्रष्टाको सफलता पनि त हो । झण्डै तीन दशक अघिदेखि उब्जिएका गुरागाईका भावनालाई सङ्ग्रहित गर्न एनआरएन हिक्मत थापाले लगाएको गुनलाई उनले कार्यक्रमै सम्झिए । नेपाल अफ्रिका साहित्यिक समाजले बाहिर ल्याएको जुनको आगोमा सङ्गीत र स्वर भरिएपछि लाग्थ्यो सुगम सङ्गीतमा गुरागाईका शब्द अब्बल छन् । तिनले राम्रै ठाउँ प्राप्त गर्नेछन् । सङ्गीत साधना प्रतिष्ठान इटहरीसहित अन्य कलाकारले प्रत्यक्ष सङ्गीत भरी गायक गोपाल अधिकारीले– रमिता यो के हो, यहाँ भीड किन बेला छैन राम्रो यो समय चिन..... बाट शुरु भएको प्रस्तुतिमा उनैले ज्यूँदै मैले सजाउन जानिनँ मान्छेको भीडमा रमाउन जानिन .....मा पनि स्वर दिए । प्रेमिकालाई जुनमा तुलना गरेर ८४ वटा विना शीर्षकका गजल जुनको आगोमा पस्किएका गुरागाईले हरेक गजलमा आफ्नै शीर्षक उब्जिन्थे । जुनको आगोमा नसमेटिएकोे माया गर्नु नगर्नु मर्जी हजुरकै जालमा पर्नु नपर्नु मर्जी हजुरकै..... गजलमा प्राज्ञ राम धामीले बोलमा स्वर भर्दा जुनको आगोभित्रैको गजल जिन्दगीसँग विरोध जनाउन म कोशी किनारमा छु बालुवा जोड्दै महल बनाउन म कोशी किनारमा छु.... मोहन तिम्सिनाको सङ्गीतमा भुवना अघिकारीले स्वर भरिन् । दर्शकलाई नयाँ स्वाद दिन सफल होम लञ्चमा गायक सञ्जीव धिमालले भूमिका लिम्बूको साथमा.. प्यारो घाउ एक्लै दुख्नु नदुखाउनु मनको फूल एक्लै रुनु नरुवाउनु... मा स्वर भरे भने धिमालको एक्लो प्रस्तुतिमा मायाले मलाई भुतुक्कै पारेर दुनियाँ रुवायो जिउँदै मारेर....मा स्वर भरी दर्शकलाई थप मनोरञ्जन दिए । जेबी थुलुङको सङ्गीतमा भूमिका लिम्बूको एक्लो प्रस्तुति थियो । छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ । छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ.... आर्थिक अभावमा तीन दशक सिरानीमै थन्किएका गुरागाईका गजलका शेरले बल्ल पुस्तकको आकार पाएको छ । हार्मोनियम, तबला र गिटारका धुनमा शब्द कुद्ने मौका पाउनुले ढिलै भए पनि उनका रचनाले उचाइ लिएको छ । ट्रक साहित्यमार्फत् सर्जकदीर्घामा उपस्थिति जनाएका गुरागाईले त्यसभन्दा अघि पनि विभिन्न उपन्यासमा आफ्नो सहभागिता जनाएका छन् । सञ्जोग पनि उस्तै थियो । शुक्रबारको रातमा ग्रहणले चन्द्रमालाई कालो धब्बा दिएकै रात गुरागाईको जुनको आगोको होम लन्च । इटहरीका प्रायः प्रतिनिधि पात्रको उपस्थितिमाझ भएको जुनको आगोको होम लञ्चपछि गजलकार टीका आत्रेयले उत्कृष्ट गजल भएको बताइन् ।