धरान विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा भगवानको समाधी मन्दिर प्रसिद्ध छ । यस क्षेत्रमा दर्र्शन गर्न आउने धार्मिक तीर्थयात्रीहरुले दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिरपछि बुढासुब्बा मन्दिरको दर्शन गरी पञ्चकन्या मन्दिरको दर्शन गर्ने गर्छन् । यिनैमध्ये बुढासुब्बा मन्दिरको किंवदन्ती इतिहास रोचक रहेको छ । भगवान बुढासुब्बाको चर्चा प्रसिद्ध इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुक्त’ भन्ने इतिहास कृतिमा पढ्न पाइन्छ । यिनले लेखे जति इतिहास बुढासुब्बाको तथ्यबारे कमैले चर्चा गरेका छन् । धार्मिक पुस्तकका लेखक स्व. लक्ष्मी आचार्यले ‘देशको माटो देशको ढुङ्गा’ मा केवल विवरणात्मक परिचयमात्र लेखेका छन् । मन्दिरमा धरान नगरपालिकाको सहयोगमा सानो परिचय साइनबोर्ड झुण्ड्याएका थिए । आजकल त्यो पढ्न पाइँदैन । धेरै पछि आएर धरान चतरालाइनका पुराना इञ्जिनियर स्व. सि.एम. देवानले ‘विजयपुर बुद्धिकर्ण किरात’ शीर्षकमा बुढासुब्बाको गाथा लेखेका छन् । यस पुस्तकमा मलाई पनि पंक्तिकारलाई पनि दुई शब्द लेख्न स्थान दिएका छन् । यो मेरो सौभाग्य हो कि वहाँका पुस्तकमा मेरा दुई शब्द वचन परेका छन् । बुढासुब्बा भगवानका बारेमा किंवदन्ती पढ्न पाइन्छ । भनिन्छ, सेन वंशका राजा विजयसेनका नाममा विजयपुर स्थान नामाकरण हुन गयो । जहाँ बुढासुब्बाको समाधी मन्दिर अवस्थित रहेको छ । यी बुढासुब्बाको परिचय यी इतिहासमा बुद्धिकर्ण राईका नामले परिचित रहेका छन् । यिनी विजयपुरका अन्तिम राजा विजयसेनका प्रधानमन्त्री रहेका थिए । यिनको निधनपछि उनको शवको समाधी नै बुढासुब्बाको समाधी मन्दिर हो । कसै–कसैको दाबीमा यहाँ मगर पुजारी रहेकोले बुढा मगरको नामले बुढासुब्बाको नामाकरण भएको भनिन्छ । यो मन्दिरको महत्वका बारेमा बुढासुब्बा बुद्धिकर्णका बारेमा धेरै पढ्न पाइन्छ । तर यस लेखको उद्देश्य बुढासुब्बा समाधी मन्दिरको प्रसिद्धी गाथासम्ममात्र चर्चा गर्ने जमर्को गरेको छ । किनकी कसै–कसैले बुद्धिकर्ण विजयपुरका राजा पनि भए भन्ने दाबी रहेको छ भने बुढामगर यहाँको मन्दिरको पुजारी रहेकोले बुढासुब्बा भन्ने गरेको बुझाइ इतिहासकारहरुको दाबीमा रहेको कुरा सि.एम. देवानको बुढासुब्बामा पढ्न पाइन्छ । यद्यपि यहाँ अहिले पनि मगर पुजारी रहेका छन् । यहाँ हाँस, कुखुराको बलि चढाउने गरेको छ । जसमा यसको आर्जे पनि हेराइन्छ । बुढासुब्बामा बाँसको टुप्पो हुँदैन, यहाँ मट्याङ्ग्रा खुब पाइन्छ । यी बाँसमा प्रेमी–प्रेमिकाले नाम लेख्ने पनि गर्छन्, डोरो बाँध्ने गर्छन् । यद्यपि बुढासुब्बा वरपर विजयपुरमा शीत पर्दैन, काग आउँदैन भन्ने कथन पनि पढ्न पाइन्छ । यो लेखको उद्देश्य हो, यहाँको बुढासुब्बाको समाधीको मन्दिर गोरखपुर रेल्वे स्टेशन बाहिर रहेको दाबी स्व. नीरप्रसाद कोइरालाले यस लेखकसँग बताएको कुरा ब्लाष्ट टाइम्सको २१ औं अङ्कमा प्रकाशित गरेको छ । जसमा वहाँले २०१३ सालमा काठमाडौंमा हुने अखिल नेपाल फेडरेसनको भेलामा भाग लिन जाँदा गोरखपुर रेल्वे स्टेशनमा ओर्लिनु भयो । त्यहाँ स्टेशन बाहिर घुमफिर गरिरहेको मौकामा वहाँको आँखा नेपालको बुढासुब्बा लेखिएको साइनबोर्डमा परेछ । जसमा धरानको बुढासुब्बाको समाधी जस्तै ढिस्को समाधी अवस्थित रहेको छ । साहित्यकार कोइरालाका अनुसार विजयपुरका राजा विजयसेनको राज्य विजयपुरदेखि विहारको कालागोला घाटदेखि गोरखपुरसम्म फैलिएको थियो । तर धरानका बुढासुब्बाको समाधीको त्यस्तै प्रकारको मन्दिर गोरखपुर स्टेशनछेउमा रहेकोबारे नेपालका इतिहारकारहरुले कहीँ कतै उल्लेख गरेका छैनन् भने भारतका इतिहासकारहरुले प्रकाश पारेका भए अवश्य पनि नेपालका इतिहासकारहरुले यस बारे थप लेख्ने थिए । किरात इतिहासका ज्ञाता इमानसिंह चेम्जोङले पनि लेख्ने थिए । सन् २००३ मा विजयपुर बुद्धिकर्ण किरात पुस्तकका लेखक सि.एम. देवानका पुस्तकमा पनि बुढासुब्बाको गोरखपुर प्रवेशबारे लेख्ने थिए । किनकी यस पुस्तकमा लेखक सि.एम.ले बुढासुब्बाको उत्पत्तिबारे धेरै थरीका धेरै विचार पस्केका छन् । कसैले बुढासुब्बामा मगर पुजारी हुनुले बुढासुब्बा मगर थरका बुढा मगरको भएको ठाउँमा विद्वानहरुको कथन छ । अर्को कुरा, बुद्धिकर्ण राई थरका हुन् कि लिम्बू थरका भन्ने पनि विवाद कायम छ । किनकी बुद्धिकर्ण राय भनी सेन राजाहरुले गरेको पत्र आदान–प्रदानमा बङ्गालका मुसलमान शासकहरुका पत्रबाट थाहा हुन्छ । तर जे होस्, विद्यमान बुढासुब्बाको समाधी धरानबाट गोरखपुरसम्म कीर्ति पैmलिनुले राजा विजयसेनका पालाका प्रधानमन्त्री बुद्धिकर्णको मृत्युपछिको समाधीलाई बुढासुब्बा नामाकरण गरी पूजाआजा गरी बलि दिनेप्रथा शुरु भयो । जस्तो कि गोरखाका राजा राम शाहकी धर्मपत्नी मनकामनामा निधन भएपछि उनको समाधीलाई मनकामना देवीका रूपमा पुज्न शुरु गरिएको जस्तै हो । विजयपुरका प्रधानमन्त्री बुद्धिकर्णका वीरताको गाथाबाट विजयसेन प्रभावित भएकैले होला उनको राज्यका पश्चिमी भागमा समेत धरानका बुढासुब्बा स्थापित गरे होलान् । यति मात्र होइन, गोरखपुर र पृथ्वी नारायण शाहको गोरखा दरबारको के सम्बन्ध छ, यति राति जय गोरखनाथ भन्दै मुलुकभरि शङ्ख फुक्ने योगीहरुको शुरुआत गाथा पनि त सबैतिर पैmलिएको छ । उनै गोरखनाथले पृथ्वीनारायण शाहलाई नेपाल राज्य एकीकरण पूरा हुने वरदान दिएका थिए । उनै बाबा गोरखनाथका अनुयायी जोगीहरुले आज पनि जय बाबा गोरखनाथ भन्दै हाम्रा घरआँगनमा अलख जगाउँछन् । प्रसङ्ग हो, बुढासुब्बाको कीर्ति पैmलिएकोले गोरखपुरमा बुढासुब्बाको समाधी रह्यो । त्यहाँका भक्तजनको श्रद्धाले नै त्यहाँ बुढासुब्बा पुजिने गरेका हुन् । त्यसैले गर्दा यहाँका बुढासुब्बाका कीर्ति भारत वर्षसम्म फैलिनुले वहाँको धार्मिक पर्यटनका लागि धरान गोरखपुरसम्म धार्मिक पर्यटनको प्रचार–प्रसार हुन जरुरी छ । आज त्यहाँ बुढासुब्बाको मन्दिर अब छ, छैन यसको खोजी गर्न पनि किरात विज्ञहरु, इतिहासकारहरुले अनुसन्धान अघि बढाउनु जरुरी देखिन्छ ।