मन्टेश्वरी शिक्षा भ्रम र यथार्थ

मञ्जु भट्ट

पछिल्लो समयमा राजधानीभित्र र बाहिर छ्यास्छ्यास्ती रुपमा खोलिएका मन्टेश्वरी अर्थात् प्रि–स्कुल यतिबेला सफल व्यवस्थापनको अभावमा उद्देश्य अनुरुपको कार्य गर्नबाट टाढा हुँदै गएका छन् । बच्चाबच्चीहरुलाई स्कुल जाने बानीको विकास हुन्छ भनेर पहिले–पहिले रहरको आधारमा बुबाआमाले भर्ना गरे पनि छोटो समयमै राम्रो नहुने निष्कर्ष उनीहरुले नै दिने गरेका छन् । स्कुलको आधार तयार गर्ने भन्दा पनि बढी देखावटी शैलीलाई आत्मसात गर्नाले यस कार्यक्रमप्रति आशङ्काहरु जन्मन थालेका छन् । मन्टेश्वरी भनेको स्कुल जानुअघि साना केटाकेटीहरुलाई स्कुलिङको बानी पार्नका लागि खोलिएका प्लेग्रुप कक्षा हो, जहाँ खान, खेल्न, बोल्न, लुगा लगाउन, नैतिक शिक्षा विकास गर्न, विशेष गरी स्कुल जाने बानी गर्ने आदि कुराहरुलाई बानी पार्न सिकाइन्छ ।
यसरी खुल्दै गरेका यस्ता संस्थाहरुमा देखावटी सामानमा खर्च गरेको, अनावश्यक अर्थात् आवश्यकताभन्दा बाहिरका विभिन्न क्रियाकलापहरुमा साना बच्चा–बच्चीहरुलाई संलग्न गराउनुले पनि यस स्कुलको गुणस्तरमा प्रश्नचिन्ह उब्जेको एकातिर छ भने अर्कोतर्फ राम्रो काम गर्नेको पनि छविमा असर पुगेको छ । केही स्थानहरुको स्थलगत घटना अध्ययनमा रुघा र ज्वरो आयो भने कुनै जानकारी बेगर दबाइ ख्वाएर सुताइदिने, खानाको गुणस्तरीयतामा कमी, महँगो शुल्क, दक्ष प्रशिक्षकको अभाव, स्तरीय प्रयोग गर्ने सामानको अभाव आदि यस क्षेत्रका मुख्य मुद्दाहरु हुन् । यस्ता सवालहरुलाई निराकरण गर्दै यस क्षेत्रमा सुधार गर्नका लागि सरकारले प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्नुपर्ने देखिन्छ । नत्र आकर्षक विज्ञापनको आधारमा अभिभावकहरु ठगिने र व्यवसायी मोटाउने क्रम कहिल्यै पनि रोकिने छैन । यसकारण यस व्यवसायमा सरोकारवालाहरुको ध्यान जानु जरुरी भइसकेको छ । यदि अब पनि यस क्षेत्रमा प्रभावकारी निरीक्षण नगरिने हो भने यस व्यवसायमा लागेको यो कालो धब्बाले राम्रो तरिकाले सञ्चालन गरिरहेका यसै व्यवसायीहरुलाई नराम्रो चोट पुग्ने निश्चित छ । जसका लागि यस्ता अब्बल मन्टेश्वरी सञ्चालकहरुले नराम्रा तथा गुणस्तरबाट टाढा रहेका त्यस्ता काला व्यवसायीहरुको पहिचान गरेर राज्यलाई जिम्मा दिन सक्नुपर्दछ । यस अभियानमा सहयोग गर्नसके मात्र यस क्षेत्रमा राम्रो कथाको शुरुवातको ग्यारेन्टी गर्न सकिन्थ्यो ।
नियन्त्रणभन्दा बाहिर गएर विभिन्न क्रियाकलापहरु आवश्यक छ भनेर साना बच्चाहरुमा त्यस चिजको प्रयोग गरिँदा दीर्घकालीन असर गने मनोविश्लेषक किशोर निरौला बताउँछन् । केही महिना त्यस्ता चिज तथा वस्तुहरुसँग फेमिलियर भएर एक्कासि छाड्दा साना केटाकेटीहरुमा नराम्रो छाप पर्ने र घरमा पनि त्यही वस्तुहरुको माग गर्नाले लामो समयसम्म दुःख दिने गरेका घटनाहरु बढिरहेको उनको ठहर छ । तसर्थ यस्ता मन्टेश्वरीहरुमा आवश्यकता अनुसार र चेक गरिनु आवश्यक रहेको छ । जाँचबुझलाई समयमै गरिनाले झुट र गलत शैलीको बहिष्कार भई नयाँ र पारदर्शी क्रियाकलापको विकास हुने थियो । यसका लागि सम्बन्धित पक्षले ध्यान दिनु आवश्यक भइसकेको छ ।
अन्तरिम संविधान २०६३ ले मौलिक हक अन्तर्गत धारा २२ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरेको छ, जसमा पहिचान र नामको हक, पालन–पोषण, आधारभूत स्वास्थ्य, सामाजिक सुरक्षा, शोषणविरुद्धको हक, सुनिश्चित भविश्यका लागि राज्यबाट विशेष व्यवस्था, बालश्रमशोषण आदिको अनिवार्य व्यवस्था गरेको छ । तसर्थ शैक्षिक संस्थाहरु त्यसमा पनि बालबालिकासँग सम्बन्धित यस्ता सङ्गठनहरु सम्बन्धित विभिन्न कानून तथा नियमहरुसँगै चालु योजना, अन्तरिम संविधान र सहस्राब्दी विकास लक्ष्य आदिले पनि प्रष्टसँग अधिकार र हकहरुको बारेमा व्यवस्था गरेको छ । जसको अधीनमा रहेर यस्ता विकृत क्रियाकलापहरुलाई जतिबेलै चाबी लगाई कारबाही गर्न सकिन्छ । कानूनभन्दा माथि कोही पनि नहुने भएकाले गलत मानसिकताबाट कुनै पनि गतिविधि सञ्चालन गरिन्छ भने तुरुन्त एक्सन लिनु जरुरी छ । नत्र राम्रो क्षेत्रमा पनि यस्ता कुतत्वले घुलमिल गरी नराम्रो वातावरणको स्थापना गर्न कुतत्व सधैँ प्रयत्नरत हुनेछन् ।
बालबालिकाहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न पक्षहरुमध्ये पछिल्लो समयमा निकै फस्टाएको यो शैक्षिक व्यवसाय समयअनुसारको माग भए पनि यस्ता संस्थाहरुको अनुगमन र सुधारमा सरकार तथा सरोकारवालाहरु कञ्जुस्याइँ गर्नु हुँदैन । सबै पक्ष जतिबेलै तयार रहनुपर्दछ । सुधारका प्याकेजहरु समय–समयमा दिनु अत्यावश्यक भइसकेको छ । सफल टे«निङ्ग पद्धतिको विकास, हानिकारक खेलौनाको प्रयोग नगर्ने, दक्ष कर्मचारीको भर्ना र छनौट, विशेष स्थानको व्यवस्था, पोषणयुक्त खानेकुराको उपलब्धता, शैक्षिक वातावरणको निर्माण, न्यून शुल्कमा गुणस्तरीय शिक्षा आदि अपरिहार्य बनेको छ ।