जङ्गली हात्ती आक्रमणले वर्षेनी नेपालमा जनधनको क्षति पु¥याइरहेको छ । तर नियन्त्रणमा राज्यको पहल छैन । वर्षमा दुईपटक हात्ती आक्रमणबाट झापा, मोरङ, सुनसरीलगायत देशका विभिन्न भागमा क्षति पु¥याउँदै आइरहेको छ । त्यसमध्ये पनि झापा हात्ती आक्रमणबाट सबैभन्दा बढी प्रताडित छ । हात्तीको आक्रमणबाट मानवीय क्षतिको आँकडा हेर्ने हो भने डरलाग्दो छ भने धनको क्षति पनि करोडौं हुने गरेको छ । यसबाट पनि हात्ती नियन्त्रण बाहिर छ भन्ने सङ्केत गर्दछ । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन राज्य पनि गम्भीर नभएको आरोप लाग्दै आएको छ । राज्यले हात्ती नियन्त्रणका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । तर त्यो बजेट प्रभावहीन बनिरहेको छ । विशेषगरी नियन्त्रणमा ठोस योजना तथा नीतिको अभावले गर्दा पनि यो समस्या देखिएको छ । हात्ती नियन्त्रणको सबैभन्दा जटिलता जनसंख्याको वृद्धिसँगै बासस्थानले गर्दा हो । मानिसहरूको जनसंख्या वृद्धिले गर्दा जताततै बस्तीहरू बसेका छन् । जसले गर्दा जनवारको जैविक मार्ग ध्वस्त बनेको छ । जैविक मार्गका लागि राज्यले अहिलेसम्म पहल गरेको पाइँदैन । त्यसैले कतिपय सन्दर्भमा हात्तीकै कारण सडक जाम हुने गरेको यथार्थ हामीमाझ लुकेको छैन । एक दिनअघि मात्रै चितवनमा हात्तीका कारण केहीसमय सवारी आवागमन नै ठप्प हुन पुग्यो । जैविक मार्गका लागि राज्यले नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । जङ्गली जनावर हिँड्ने मागको पहिचान गरेर त्यस्ता क्षेत्रहरुमा हुने आवादीलाई नियन्त्रण गर्नुपर्छ । वन्यजन्तुको अधिकारका लागि पनि राज्यले नै बोल्नु पर्छ । नागरिकको अधिकारको कुरा गरिरहँदा वन्यजन्तुको अधिकारलाई कुण्ठित गरिनु हुँदैन । बजेट विनियोजन गर्दा राज्यले नियन्त्रणमा ल्याउनेभन्दा जैविक मार्गमा बढीभन्दा बढी ध्यान लगाइनुपर्छ । त्यसका लागि बजेट विनियोजन गरिनुपर्छ । हात्ती नियन्त्रणबाहिर हुनु हात्तीको मात्रै दोष हैन । त्यहाँ मानवको पनि दोष उत्तिकै छ । बस्ती बसाउने नाममा जथाभावी बस्ती बसाल्दाको परिणाम अहिले हामीले भोगिरहेका हौं । आवादी गर्नुअघि यस्ता विषयमा गम्भीर ध्यान नदिएकाले समस्या सिर्जना भएको हो । अब भएको आवादीलाई हटाउने त ? त्यो पनि उत्तम विकल्प होइन । तर त्यसका लागि भएका जङ्गलहरूको संरक्षणमा राज्य गम्भीर भएर लाग्नुपर्छ । भएका जैविक मार्गहरूको संरक्षणमा ध्यान दिनुपर्छ । मानव रक्षाको लागि त्यो मात्रै उत्तम विकल्प हुनसक्छ ।