भद्रपुर। जिल्ला प्रशासन कार्यालय झापाले सिफारिस गर्ने राहदानीमा अधिकांश अष्ट्रेलिया जाने युवा युवती रहेको जनाएको छ । आउने सेवाग्राहीको उद्देश्य नै अष्ट्रेलिया अध्ययन भन्ने गरेकाले आर्थिक वर्षको शुरुवातीमा नै यसको लहर बढेर गएको हो ।

चालु आर्थिक वर्षको साउन ९ सम्म दु्रत सेवामा मात्र ७६ जनाले सिफारिस लगिसकेको कार्यालयले जनाएको छ । दु्रतसेवा सिफारिस लिएर काठमाण्डौबाट राहदानी बनाई अध्ययनसँगै काम गर्न जाने उनिहरुको भनाई छ । राहदानी बनाउनेमा +२ मा अध्ययनरत विद्यार्थी बढी रहेको प्रशासकीय प्रमुख चुडाराज भट्टराइले बताए ।

बिगतको अवस्थालाई हेर्ने हो भने रोजगारीको लागि उमेर खाएका नागरिकले राहदानी बनाउने गरेका थिए । पछिल्लो समय त्यो घटेर युवा युवतीमा सरेको उनले जनाए । सेवाग्राहीलाई हेर्ने वित्तिकै अष्ट्रेलिया कै लागि राहदानी बनाउन आएको प्रमाणित भएको छ । परिवारको साथमा आएका प्रायः विद्यार्थी रहेको उनको भनाई छ ।

अष्ट्रिेलियमा चिकित्सा अध्ययनको लागि प्रभावकारी भएकोले त्यसतर्फ विद्यार्थीको आकर्षण बढेर गएको उनले बताए । खाडी मुलुक वा वैदेशिक रोजगारीमा जान्छु भन्नेको सङ्ख्या कम भएको वैदेशिक रोजगारीको काम गर्दै आएको सामी परियोजना झापाका कर्मचारी दुर्गा प्रसाद खनालले बताए । गतवर्ष भन्दा चालु आ.व को शुरुमा नै अष्ट्रेलिया जान्छु भन्नेको मोह बढेको खनालले बताए । यो वर्षको साउनको ९ गतेसम्म कानूनी परामर्श दिएका मध्ये ४८ जना युवा युवतीले अष्ट्रेलिया जाने बताएको उनले सुनाए ।

युवती स्टाफ नर्स र यूवा अध्ययन गर्दै जागिर खाने उद्देश्यले जान लागेको बताउने गरेको उनको भनाइ छ । परिवारसँगै आएकाले कतीपयले भने कुनै प्रतिक्रिया नदिएको उनले जनाए । पछिल्लो समय अष्ट्रिेलिया जानेको ‘फेसन’को रुपमा आएको वैदेशिक रोजगार सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र झापाका स्वयमसेवक हरिप्रसाद पराजुलीले बताए । छिमेकी, नाता गोता गएको देखेपछि रहर जागेर आएको उनको भनाइ छ ।

बाहिरी आकर्षणले मात्र हुदैन भित्री कती कमाइ हुन्छ भन्ने यथार्थ अहिले सम्म नपाइएको उनले बताए । पछि जाने इच्छा रहेकोले अहिले दर्ता गराइरहेको मालिका दाहालले बताइन् । अहिले पढ्दै गरेकोले पछि अष्ट्रिेलिया गएर खर्चको जोहो गर्दै अध्ययन गर्ने उनको भनाई छ । नागरिकता बनाइरहेको समयमा राहदानीको फारम पनि दर्ता गराइरहेको अभिभावकको भनाइ छ । आफु व्यवसायमा रहेको र छोरी काठमाडौ बसेर पढ्ने भएकोले पछि जानसक्ने हुदा दर्ता गराइरहेको अभिभावक बताउँछन् ।

त्यसैगरि अध्ययनसगै कमाइ गर्ने उद्देश्यले अष्ट्रिेलियाको लागि राहदानीको फारम दर्ता गरेको अनुप गुराँगाइ बताउँछन् । नेपालमा बसेर खासै कमाइ नहुने भएकोले बाहिर जान लागेको उनको भनाइ छ । राहदानीको लागि द्रुत सेवाको सिफारिसको चाप उल्लेखिय रहेको द्रुतसेवा फाँटका नासु चन्द्र सिटौला बताउँछन् । अधिकांश १८ देखि २२ वर्षका विद्यार्थी रहेको उनले जनाए । चालु आर्थिक वर्षको ९ गतेसम्म झापाबाट राहदानी लिनेगरीका २ सय ८० र काठमाडौबाट दोब्बर दस्तुर तिरेर द्रुतसेवा सिफारिस लिने ७६ जना गरी ३ सय ५६ ओटा राहदानी दर्ता भएको राहदानी फाँटका प्रशासकीय अधिकृत दिननाथ लम्सालले बताए । पछिल्लो समय उमेर ढल्कदै गएका भन्दा पनि युवावर्गका विद्यार्थीको सङ्ख्या उल्लेखिय रहेको लम्सालले जनाए ।