मधुमल्ला/ कला र संस्कृतिको माध्यमबाट उर्लाबारी नगरलाई परिचित गराउने उद्देश्यले ‘मिस उर्लाबारी’ दोस्रो संस्करणको आयोजना गरिने भएको छ ।

विगतमा काठमाण्डौस्थित वेटर ग्यालेक्सीको व्यवस्थापनमा उर्लाबारी युवा क्लबको आयोजनामा मिस उर्लाबारीको पहिलो संस्करण भएको थियो । सेन्ट्रल फेशन हवको आयोजनामा मिस उर्लाबारीको दोस्रो संस्करण गर्ने लागिएको अध्यक्ष जीवन चिमरियाले बताए ।

व्यक्तित्व विकास र किशोरीहरुमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्नका लागि मिस उर्लाबारी आयोजना गरिएको र फाराम धमाधम वितरण भइरहेको उनले जानकारी दिए । प्रतियोगिताको विजेतालाई नगद ५० हजार, छात्रवृत्तिसहित आकर्षण पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, फष्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः नगद ३० र २० हजारसहित छात्रवृत्ति र आकर्षण पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १६ बर्षदेखि २५ बर्षसम्मका किशोरी÷युवतीहरुले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीहरुलाई कोरियोग्राफर प्रमिशा बज्रचार्यले प्रशिक्षण दिने छिन् ।

उर्लाबारी नगरपालिकासँग साझेदारी गरी मिस उर्लाबारीलाई विभिन्न सामाजिक कार्यको साथै उर्लाबारीको पर्यटकीय क्षेत्रको पहिचानका लागि सहभागी गराइने जनाइएको छ । उर्लाबारी क्षेत्रभरिका कलाकारहरुलाई फाइनल राउण्डमा सहभागी गराई सम्मानसमेत गरिने बताइएको छ ।