पानवारी । धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाको सम्झनामा उपमहानगरपालिकाले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा स्व. सुब्बाको तस्बिरमा माल्यार्पण गरिएको थियो । त्यस्तै गरी सुब्बाको स्मरण गर्दै सहभागी अतिथिहरुले शोक मन्तव्य समेत व्यक्त गरेका थिए । सुब्बा एक असल र दुरदृष्टि राख्ने नेता भएको स्मरण गरेका थिए । स्व. सुब्बाको निधनले धरानलाई अपुरणीय क्षति पु¥याएको भन्दै भण्डारी मन्तव्य दिने क्रममा भावविह्वल समेत भएका थिए । धरान–१५ स्थित सदन सभाहलमा भएको श्रद्धाञ्जली सभामा एक नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, नेपाल नगरपालिका महासंघका केन्द्रीय अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक बेञ्जु, नेपाल नगरपालिका महासंघका १ नं. प्रदेश संयोजक तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेत लगायत धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरे लगायतले स्व. तारा सुब्बाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली सभा पश्चात धरान उपमहानगरपालिकाका कर्मचारी लगायत सम्पूर्ण वडाका जनप्रतिनिधिहरुले सुब्बाको परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

सुब्बाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा भएको खर्च एक नं. प्रदेश सरकारले ब्यहोर्ने भएको छ । प्रदेश सरकारको आइतबार बसेको बैठकले मेयर सुब्बाको उपचारको क्रममा भएको खर्च मध्ये तीन लाख रुपैयाँ ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिएका छन् । मेयर सुब्बाको यही साउन १ गते उपचारका क्रममा ग्राण्डी अस्पताल काठमाडौमा निधन भएको थियो ।