मधुमल्ला (ब्लाष्ट) झापाको दमक-४ स्थित होटल वन्डरल्याण्डमा स्वीमिङ गर्न गएका दुई पक्षवीच झगडा हुँदा सात जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था भने गम्भिर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिवार राति ९ः३० वजेतिर स्वीमिङ पुलमा पुगेका ग्राहक र सञ्चालक पक्षवीच झगडा हुँदा ७ जना घाईते भएका हुन् । ग्राहकले अराजक गतिबिधि गरेपछि सञ्चालक पक्षसँग झगडा भएको थियो । यसरी घाईते हुनेहरुमा दमक-२ का सुमन श्रेष्ठ, दमक-८ का नवराज गिरी, दमक-४ का पुष्कर पाण्डे, दमक-९ का भेषराज कुवँर, दमक-८ का सन्दिप तामाङ र दमक-९ का प्रदिप गौतम घाईते भएको इप्रका दमकले जनाएको छ । घाइते मध्ये श्रेष्ठ र गौतमलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको जनाईएको छ । होटलका सञ्चालक र यहाँ कार्यरत कर्मचारीहरुलाइ प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको बताईएको छ । पौडी खेल्ने बिषयको बिबादमा होटलमा झगडा भएको बताईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । उनले दोषीमाथि कार्वाही हुने जनाए । यसैवीच आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले स्वीमिङ पुलका सञ्चालकसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएकोछ । प्रहरीको नियन्त्रणमा रहेका सबैलाई आइतबार नै जिल्ला अदालत झापामा म्याद थप गरिएको छ । पक्राउ पर्नेहरुमा स्वीमिङ पुल सञ्चालक मोरङ,उर्लाबारी -७ का ४५ बर्षीय विदुर लामा, सोही वडाका ३७ बर्षीय नगेन्द्र कोइराला, उर्लाबारी-५ का १८ बर्षीय सचिन श्रेष्ठ, उर्लाबारी-४ का १९ बर्षीय कौशल श्रेष्ठ, दमक-४ का १६ बर्षीय रोनिश स्याङ्वो, सोही वडाका २३ बर्षीय जीवन कार्की, १९ बर्षीय निकेश श्रेष्ठ, विक्रम प्रधान, दमक-२ का २० बर्षीय रोशन नेपाल, दमक-४ कै १६ बर्षीय शान्त तामाङ, दमक-१ का २५ बर्षीय सुजन पौडेल र दमक-६ का ३५ बर्षीय पंकज अग्रवाल रहेका छन् । त्यस्तै, आइतबार दिउँसो नै सोही घटनालाई लिएर युवाहरुको एक समूहले स्वीमिङ पुल बन्द गराएका छन् । स्वीमिङ पुल सञ्चालकहरु मिलेर मनपरी ढंगले सर्वसाधारणहरुमाथि आक्रमण गरेको भन्दै उनीहरुले स्वीमङ पुलको प्रवेशद्धारमा तालावन्दी गरेका हुन् । यस्तै, अराजक समूहले होटल सञ्चालक फिरोज बस्नेतको उर्लाबारी-७ स्थित घर तोडफोड गरेका छन् । घरका सीसा फुटेका छन् । उक्त घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।