पथरीशनिश्चरे/ झापा भएर बग्ने ९ वटा ठूला नदी तथा खोलाको व्यवस्थित तटवन्धका लागि चाइनाको टोलीले प्रारम्भिक चरणको सर्भे थालेको छ ।

तटवन्धका लागि कुरा हुँदै गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको चाइना भ्रमणमा भएको सहमति अनुरुप झापाका ९ वटा खोलाहरु कटान नियन्त्रण गर्न चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीले प्रारम्भिक सर्भे थालेको झापाका पूर्व सांसद दीपक कार्कीले जनाए ।

‘कम्तिमा पनि २ पुस्तासम्म थाम्ने व्यवस्थित वाँध निर्माण भइदियो भनें झापाको तटवन्ध समस्याबाट स्थानीय शान्तिसंग वस्न पाउनेछन् ।’– झापाको कटान समस्या प्रमुख समस्या भएको दर्शाउँदै उनले भने । चाइना टोलीले आफुहरुलाई दुःख दिने नदी तथा खोलालाई आफ्नो बाटोमा बहाउने योजनामा सघाउने थाहा पाएपछि झापाली वासिन्दा हर्षित बनेको पनि उनले सुनाए ।

चाइनिज कम्पनीका कन्सल्टेन्ट याहूको नेतृत्वको ७ जनाको चाइनिज टोलीका साथमा नेपालका प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवालय सदस्य होमबहादुर थापा, टोलीको सहजकर्ता पुष्प बरुवाल, नदी नियन्त्रण सिञ्चाई केन्द्रीय विभागका इन्जिनियरहरु सहभागि छन् । टोलीले मावा, रतुवा, किस्ने, कमल, सतासी, कन्काई, विरिङको प्रारम्भिक सर्भे सकेको जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन १ नं गैडे कार्यालय प्रमुख जद्धु शाहले जनाए । सोमवार हडिया र निन्दा खोलाको सर्भे सकिने छ । झापामा दुःख दिने यी मुख्य नदी तथा खोलाको सिरानबाट भारतको सीमासम्मको क्षेत्रमा तटवन्धका लागि सर्भे भइरहेको छ ।

नदी या खोलाको दुवैतिर व्यवस्थित तटवन्धको ड्याम कस्ने तथा त्यसमाथि यातायात गुड्ने सडक बनाउने र ग्रिनवेल्ट पनि राख्ने चाइना कम्पनीसँग नेपाल सरकारले कुरा अघि बढाएको नेपाली प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवालय सदस्य होमबहादुर थापाले बताए ।

आई सर्भेका रुपमा प्रत्यक्ष र गुगलबाट हेर्ने प्रक्रिया अन्तर्गत पानीको वहाव, त्यसबाट हुने कटान, त्यसको तटवन्धको दुरीका कुरा हेर्ने काम भएको थापाले जनाए । ६ महिनाभित्र डीपीआर तयार गरी लागत तय हुने र त्यसमा कस्तो प्रकारको आर्थिक सहभागिता जनाउने भन्ने निश्चित हुने उनले उल्लेख गरे । धेरैको संख्यामा नदी र खोला रहेको झापामा नदी तथा खोलाहरुबाट वर्षेनी जनधनको क्षति हुँदै आएको छ । वर्षेनी सयौं विगाहा खेतीयोग्य जमिन कटान र डुवानको चपेटामा पर्दै आएको छ भनें दर्जनौं परिवार विस्थापित हुँदै आएका छन् ।