पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लामै बढी संख्यामा मुद्धाको छिनोफानो गरेको छ ।

पछिल्लो १ वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २ सय १० वटा मुद्धाको छिनोफानो गरिएको नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।

०७४ साउन १५ मा गठन भएको समितिमा ३ सय १५ मुद्धाका निवेदन दर्ता भएकामा २ सय १० वटा मुद्धा मेलमिलापको माध्यमबाट मिलाइएको वास्तोलाले उल्लेख गरिन् । बाँकी मुद्धाहरु कोही घरपरिवारमै मिलेको, कोही अदालतमा दर्ता भएको तथा केही मुद्धाहरु मिलाउने प्रक्रियामा रहेको जनाइन् । न्याय क्षेत्रमा तल्लोस्तरका नगरवासीको समेत सहज पहुँच पुगोस् भन्ने उद्धेश्यले खडा भएको न्यायिक समिति बनेपछि वर्षाैंदेखि न्याय नपाएर हैरान भएकाहरुले न्याय पाएको उपप्रमुख वास्तोलाले वताइन् ।

वडा नम्वर १ ले १३ वटा, २ ले ५ वटा, ३ ले ६ वटा, ४ ले ५ वटा, ५ ले ११ वटा, ६ ले ४ वटा, ७ ले १५ वटा, ८ ले ४ वटा, ९ ले १० वटा र १० ले ११ वटा गरी ७५ वटा मुद्धा वडामै मिलाएका छन् ।

न्यायिक समितिले लेनदेनका ४३ वटा, पतिपत्नीका २६ वटा, साँध सिमानाका १८ वटा, घरायसी १० वटा, अंशवण्डाका ८ वटा, बाटो विवादका ७ वटा सहितका मुद्धाहरु मिलाएको छ । एउटा मुद्धा अदालतमा पुगेको छ । वडातहमै मुद्धाहरु मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेका मुद्धाहरुलाई साताको २ दिन न्याय समितिले हेर्ने गरिएको छ । समितिमा नगर उपप्रमुख संयोजक तथा कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र वडा सदस्य दुर्गाप्रसाद सिटौला सदस्य रहेका छन् । न्याय सम्पादन थप व्यवस्थित गर्न अधिवक्ता दीपक राईलाई कानूनी सल्लाहकारका रुपमा राखिएको छ ।

मेलमिलापको माध्यमबाट मुद्धाहरु किनारा लगाउने सिद्धान्तलाई प्राथमिकता दिँदै प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गरिएको छ । त्यहाँ ३ जनाका दरले मेलमिलाप कार्यकर्ता चयन गरिएको छ । ०७४ पुस २४ देखि २८ गतेसम्म मेलमिलापकर्ताहरुको प्रशिक्षण, ०७५ वैशाख ५ देखि ७ सम्म पुनतार्जगी तालिम सञ्चालन गरिएको थियो । गत असार १७ गते जिल्ला अदालतका न्यायाधिसहरु नगरपालिकामै आइ ‘न्यायमा वाह्य पहुँच’ कार्यक्रम सञ्चालन गरी न्याय सम्पादनका बारेमा थप अन्तरक्रिया भएको छ । न्यायिक समिति, कार्यपालिका सदस्य, मेलमिलाप कार्यकर्ताहरु सहभागि कार्यक्रममा जिल्ला न्यायाधिस राजुकुमार खतिवडा सहितको सहभागिता थियो ।