पाँचथर । शिरमा शिरफूल, निधारमा शिरबन्दी, नाकमा ढुङ्ग्री र मुन्द्री, कानमा चेप्टेसुन । ढाकाको मेख्लीमाथि गलामा कन्ठा, छातीको एकातिर अल्झिएको सिलामसाक्मा, हातमा बाहीँ र पाउमा कल्ली । यति भएपछि सहजै अनुमान लाउन सकिन्छ– यी खाट्टी लिम्बुनी युवती हुन् । आधुनिकताको सिको गर्ने नयाँ पुस्ताका युवतीहरुका लागि यी परम्परागत गरगहना र पहिरन झन्झटिलो लाग्नु स्वभाविकै हो । तर लिम्बू बाहुल्य जिल्ला पाँचथरमा भने मौलिक गरगहना र पहिरनमा सजिएर हिँड्ने लिम्बुनी युवती प्रशस्त भेटिन्छन् । जिल्लामा लिम्बूजन्य सङ्घ–संस्थासँगै अन्य जातीय संस्थाहरुले पनि विभिन्न महोत्सव, उत्सव र कार्यक्रमको आयोजना गरिरहन्छन् । ती कार्यक्रमहरुमा जिल्लाका लिम्बुनी युवती परम्परागत गरगहना र मौलिक पहिरनमा सजिएर रमाइरहेका भेटिन्छन् । नीरन्ती तुम्बापोकै कुरा गरौं– किरात याक्थुङ चुम्लुङको केन्द्रीय महासचिव रहेकी उनी यस्ता कार्यक्रमहरुमा प्रायः मौलिक पहिरन र गरगहनामा सजिएकै हुन्छिन् । ‘यति भएपछि आफ्नो पहिचान कसैलाई बताइरहनु पर्दैन’ उनले भनिन्, ‘बजारमै लाएर हिँड्ने कुरा त भएन तर विशेष अवसर र कार्यक्रमहरुमा भने सधैँ लाउँछु ।’

मौलिक पहिरन र गरगहनामा सजिँदा आफूलाई गर्व र आत्मसम्मानको अनभूति हुने बताउँछिन् युन्छोहाङ्मा लिम्बू । उनी चुम्लुङ पाँचथरको कोषाध्यक्ष हुन् । मौलिक पहिरन र गरगहनाले आफ्नो सुन्दरतामा बेग्लै किसिमको चमक ल्याउने अनुभव सुनाउँछिन् मोडल तथा कोरियोग्राफर बबिता फोम्बो । बढी समय राजधानीमा रहने फोम्बो मौलिक पहिरनको प्रवद्र्धनका लागि जिल्लामा आयोजना हुने फेसन शोहरुमा अक्सर गृहजिल्ला आइपुग्छिन् । जिल्लामा हुने मौलिक फेसन शो र ¥याम्पहरुमा उनैले कोरियोग्राफ गर्छिन् । मिस लिम्बू–२०१६ मा बेस्ट स्माइलको टाइटल जितेकी फिदिम–४ गढीकी सुक्मिता केरुङ पनि मौलिक पहिरन र गरहगनाले सुन्दरतामा बेग्लै चमक आउने अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘मैले मिस लिम्बूमा पनि लाएकी थिएँ, अरुबेला पनि लाउँदै आएकी छु ।’ उँधौली–उँभौली, सिसेक्पा तङ्नाम, कक्फेक्वा तङ्नाम, बलिहाङ तङ्नाम जस्ता मौलिक चाडपर्वहरुमा मात्र होइन, अन्य मेला, पर्व र उत्सवहरुमा समेत मौलिक पहिरन र गरगहनामा सजिएर हिँड्ने युवतीको संख्या जिल्लामा बढ्दो छ । यसको प्रभावले अहिले जिल्लामा राई, तामाङ, गुरुङलगायतका युवती पनि मौलिक पहिरनतर्फ आकर्षित हुन थालेका छन् ।

विशेषगरी पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यी पहिरन र गरगहनाको उत्पत्तिको विषयमा युनिक साल संवत् कसैसँग छैन । तर यसको उत्पत्तिको सन्दर्भ भने लिम्बू जातिले मूल देवताको रूपमा पुज्ने युमासँग जोडिने भाषा तथा संस्कृतिविद् दिलेन्द्र कुरुम्बाङ बताउँछन् । उनले भने, ‘लिम्बूहरुको मुन्धुम (वेद) अनुसार प्राचीनकालमा युमा विभिन्न किसिमका भेषभूषा र गरगहनामा सजिएर विभिन्न स्थानहरुमा प्रकट हुने गर्थिन्, तान बुन्थिन्, पछि मानिसहरुले त्यसैको सिको गरे र आधुनिकीकरण गर्दै ल्याए ।’ लिम्बू सँस्कृतिका ज्ञाता तथा भाषा आयोगका भाषाविज्ञ हरिचन्द्र लाओती यी वस्तुहरु नेपालको विविधताभित्रको सुन्दर वस्तुहरु भएको बताउँछन् । उनी भन्छन्, ‘तर राज्यले यस्ता वस्तुहरुको संरक्षण गर्ने र त्यसबाट फाइदा लिनेबारे खासै चासो दिएको पाइँदैन, वास्तवमा यस्ता वस्तुहरुबाट राज्यले ठूलो लाभ लिन सक्छ ।’ अहिले स–साना कुराहरुमा पनि ‘जातीयता’ को सङ्कीर्ण मनोविज्ञान डरलाग्दो गरी हुर्किरहेको लाओतीको अनुभव छ । यसबाट भित्रभित्रै एउटा द्वन्द्व हुर्किरहेकाले यसलाई समयमै साम्य बनाउन राज्य र प्राज्ञिकजगत् लाग्नुपर्ने लाओतीको भनाइ छ ।