पानबारी । सडक डिभिजन कार्यालय विराटनगरले मर्मत गरेको सडक एक वर्ष बित्न नपाउँदै फेरि उस्तै भएको छ । स्थानीय तहमा निर्वाचित भएपछि मेयर तारा सुब्बाको पहलमा मर्मत भएको सडक उस्तै अवस्थामा पुगेको हो । धरानको मुख्य बजार क्षेत्र बरगाछीदेखि लक्ष्मीचोकसम्म पर्ने कोशी राजमार्गअन्तर्गत तीन किलोमिटर सडक ठाउँ–ठाउँमा भत्किएको र खाल्डो परेको छ । गतवर्ष मर्मत गरेको पक्की सडक उप्किएको र खाल्डा परेको हो ।

मुख्यमार्गमा नै सडक खाल्डाखुल्डी पर्दा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । सडकमा जताततै भएको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ्ने भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरानका अध्यक्ष कमल भट्टराईले मुख्य सडक नै छियाछिया हुँदा समेत मर्मतमा कसैको ध्यान नजानु दुःखदायी भएको बताए । पूर्वी पहाडी क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको धरानको सडक व्यस्त सडक हो । खाल्डाखुल्डीले गर्दा अहिले बिहान बेलुका सडक जाम हुन थालेको छ ।

सडकको खाल्डाखुल्डीले गर्दा विपरीत दिशाबाट आएका सवारी साधनलाई ‘साइड’ दिन मुस्किल पर्ने र खाल्डा कटाउन खोज्दा दुर्घटना बढ्ने खतरा रहेको गुनासो टेम्पो चालक हेमु भुजेल गरेका छन् । उनका अनुसार सडकमा रहेका खाल्डाखुल्डी लाई पुर्न ठाउँ–ठाउँमा लगाइएको गिटीले झनै जोखिम बढेको छ । भानुचोकमै सडक खाल्डाखुल्डी छ भने लक्ष्मीचोकदेखि धरान माविसम्मको क्षेत्र, टेलिकम अफिस अगाडि, भोटेपुल र बरगाछी क्षेत्रमा अत्यधिक बिग्रिएको छ । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इञ्जिनियर जितेन्द्र चौधरीले सडक मर्मत गर्ने काम नियमित प्रकृया भएको भन्दै बिग्रिएको भए मर्मत गर्नुपर्ने बताए । उनले सडक भत्किएको भनेर कसैले गुनासो नगरेकोले आफूलाई थाहा नभएको प्रतिकृया दिए ।

राजमार्गको पुल नै जोखिममा कोशी राजमार्गमा पर्ने धरान–८ स्थित भोटेपुल बाढीको उच्च जोखिममा परेको छ । पुलको छेउमा भूक्षय भई सडकको पक्की भाग मात्र बाँकी छ । धनकुटे रोडको पुलजस्तै गरी भत्कने खतरा रहेको भन्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले सडक विभागलाई जानकारी गराइसकेको बताइन् । पुल भत्किएको खण्डमा पूर्वी पहाडी जिल्ला पुग्न समस्या हुने समेत भण्डारीले बताइन् । सडक डिभिजन भने यस विषयमा समेत अनविज्ञ देखिन्छ ।