भद्रपुर । झापाका एक अवकासप्राप्त कर्मचारीले बाँकी जीवन कृषि पेशामा लगाई माछापालन व्यवसायबाट वार्षिक ७ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । भद्रपुर –७ का नवीन कोइरालाले हल्दीबारी–४ वडाबारीमा एक बिगाहामा निर्मित चारवटा पोखरीमा लगाइएको विभिन्न जातका माछाबाट मनग्य आम्दानी गर्दै आएका हुन् । ०७१ सालमा एकीकृत कृषि परियोजना अन्तर्गत नमस्ते कृषि फार्म दर्ता गराई ४२ लाखको लगानीमा व्यवसाय शुरु गरेका थिए । पोखरी निर्माण गरी चित्तलपेटी र कार्प ७ प्रकारको पङ्गाशेष गरी सवा लाख माछाका भूरा लगाएका थिए । वार्षिक एक करोडको माछा बिक्री गर्ने उद्देश्यले शुरु गरेका उनले ०७२ सालको भूइँचालोबाट पोखरीमा लगाइएका ट्रष्ट र डिल भत्किएर नोक्सान पु¥याएको थियो । भूरा लगाएको ६ महिनामा १८ सय किलो माछा बिक्रीबाट ४ लाख रुपैयाँ कमाएका थिए । आधादेखि साढे ६ किलोसम्मका माछा उत्पादन भएको उनले बताए । दैनिक ४० किलो दाना दिँदै आएकोले दाना दिएको आधारमा तौल बढ्ने उनको बुझाइ थियो । ६ महिनाको फरकमा माछा निकाल्नुपर्ने उनको भनाइ छ । अनुमानित २ लाख रकम खर्च हुने उनले जनाए । उत्पादन भएका माछालाई माझीले नै आएर लैजाने गरेको उनले बताए । बजारमा चित्तलपेटी १५ सय र कार्प ३ सय प्रतिकिलोमा बिक्री हुने गरेको उनको भनाइ छ । निजी लगानीबाट विगत चारवर्ष अघिबाट शुरु गरे पनि हालसम्म कुनै निकायले अनुदान नदिएको उनी बताउँछन् । कृषि विकास, भू–संरक्षण कार्यालयले आश्वासनमात्र दिएर कृषकको ऊर्जालाई निराश बनाउने काम गर्दै आएको प्रति दुःख जनाउँछन् । तात्कालीन वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले ‘दुईलाख रकम आउँदैछ निवेदन दर्ता गराएपछि मात्र पोखरी खन्नू’ भने पनि व्यवसाय शुरु गरेको चार वर्षमा पनि कुनै रकम नपाएको उनले जनाए । ‘मुखले ठीक पार्ने तर काम चैं नगर्ने’ परिपाटीले कृषकको उत्साहलाई निराश पार्ने काम भएको उनको भनाइ छ । अक्सिजनको कमी भएर माछा मरेपछि दुईवर्षअघि ७५ प्रतिशत अनुदानमा अक्सिजन दिने उपकरण पाएबाहेक अरु केही सहयोग नपाएको उनले जनाए । जिल्ला भू–संरक्षणले समेत तार जाली उपलब्ध गराउने भनेपछि दुईवटै कार्यालयमा दर्ता गराएको फायल त्यत्तिकै रहेको उनले बताए । पोखरीमा पानीको मूल फुटेर कहिल्यै नसुक्ने भएपछि निकास जाने ठाउँ नभएको उनले समस्या देखाए । वरिपरि अर्काको जग्गा भएकोले पानी फाल्न नमिल्ने उनको भनाइ छ । माछामा समस्या देखिएमा पनि कृषि विशेषज्ञ नआउने भन्दै किसानका लागि आएको बजेट अनुगमनको नाटक गरेर दुरुपयोग गरेको उनको आरोप छ । नापी कार्यालयबाट अवकासप्राप्त भएपछि कृष्ण न्यौपानेको जग्गालाई पाँच वर्षको सम्झौता गरेर व्यवसाय शुरु गरेको उनले सुनाए । वैदेशिक रोजगारबाट निराश भएर आएका र जाने तरखरमा रहेका झापा, मोरङका केही युवालाई माछा तथा कुखुरा फार्म सञ्चालन गर्न प्रेरित गरे अनुरुप काम गरिरहेको उनले बताए । स्वदेशमा नै गर्दा हुन्छ तर उत्साह जागेर आउनुपर्ने उनको धारणा थियो ।