वाउ ! रमेश दाहाल सर चिच्याउनुभयो । साँच्चै अन्नपूर्ण हिमाल पोखिउँला झैं गरी बसेको छ । नमनको शैलीमा । यहीँ अन्नपूर्णमा वर्षेनी विदेशी गोराहरु आइपुग्छन् । यसैका लागि पैसा तिर्छन् । बेस क्याम्पसम्म पुग्छन् र अन्नपूर्णसँग लुकामारी खेल्छन् । क्यामेरामा कैद गर्छन् । अन्नपूर्णको सुन्दरतामा उनीहरु मोहित हुन्छन् । रमेश सर, पनि त्यसै मोहित हुनुभएको होइन । अन्नपूर्णलाई घामका किरणले एकाबिहानै स्पर्श गरेको छ । किरणका रेले म्वाई खाएको छ । सायद यसैले होला सुन्दर चिजलाई जसले पनि आँखा लगाएको ? सुन्दर त फूल पनि हुन्छ । तर, मान्छेहरु फूल चुँड्छन् । अनि मन्दिरमा चढाउँछन् । मन्दिरप्रति कति विश्वास छ मान्छेलाई । भगवानलाई चढाउने नाममा फूलको सुन्दरतामाथि मान्छेहरु कति निर्दयी बन्न सकेका होलान् ?

[caption id="attachment_14641" align="alignright" width="280"] लेखकः भाेजराज श्रेष्ठ[/caption]

मान्छेलाई मोक्ष प्राप्त गर्नुछ । तर, मोक्ष प्राप्ति हुन्छ त ? सुन्दर कुराहरू यसरी नै चुँड्दै लाने हो भने सुन्दर चिज नै समाप्त हुन्छ होला यो जगत्मा । कतिपय सुन्दर चिज चुँड्न मिल्दैन, अन्नपूर्ण हिमाल झैं । ऊ अटल छ । उसको सुन्दरतालाई चिमोट्न वर्षेनी लाखौं पर्यटक आइपुग्छन्, तर अहँ सक्दैनन् । संसारमा सुन्दर चिजहरू यसरी चिमोटिने भए, सुन्दरता कहाँ रहन्थ्यो होला र । सुन्दरताको परिभाषा त आँखासँग जोड्छन् । मनसँग जोड्छन् । बाह्य सुन्दरता मात्रै आँखा होला । आत्मिक सुन्दरताका लागि मन नै चाहिन्छ होला । तर, आँखाले सुन्दर नदेखी कला कहाँ जन्मन्छ होला र ? कला जन्मिनका लागि पनि उसको आँखाले कुनै सुन्दर चिजको अनुभूति त गर्नु पर्दो हो नी । रमेश सरको शुरूमा दिव्य दृष्टि गोचर भयो होला त ? भएन होला । वाउ ! उनको व्यक्तशैलीले अन्नपूर्णको बाह्य सुन्दरताको चर्चा गरेको हुनुपर्छ । अन्नपूर्णको आत्मिक सुन्दरता त कति विद्रुप होला । चट्टान, पत्रे चट्टान मिश्रित त होला । कति विकृत होला । फुङ्ङ उडेको चट्टान देख्दा मुखबाट वाउ ! शब्द आउँला । विरक्त लाग्दो हो नि, हैन र । तर, चट्टानमा पनि सुन्दरता हुन्छ । आत्मिक सुन्दरता । त्यो सुन्दरता हेर्न कवि मन चाहिन्छ त्यसै भनेका हैनन् होला विद्वानहरूले ।

चट्टानको पनि भित्री रहस्य खोतल्दै जाने हो भने त त्यो पनि कति असुन्दर लाग्न सक्लान् । तर, त्यही चट्टानमाथि चाँदीको घेरा झैं हिउको लेपन लाग्दा कति सुन्दर छन् । रमेश सरले भनेजस्तै वाउ ! गोराहरू चट्टान हेर्न आएका होलान् त नेपाल ? चट्टानको सुन्दरता हेर्न आएका होलान् र ? भित्री सुन्दरतामा उनीहरुलाई दिलचस्पी नहुन सक्छ । बाह्य सुन्दरताले नै उनीहरुलाई नेपाल आउन बाध्य पार्दो हो । त्यसैले त, संसारमा पर्यटनका तीनवटा हिस्साहरू जोडिएर आएका होलान् । विश्वमा कृत्रिम पर्यटन, प्राकृतिक पर्यटन र सेक्स पर्यटन । सबैभन्दा बढी बिक्छन् । त्यही भएर त नेपालमा प्राकृतिक पर्यटनमा रमाउन विदेशीहरू ताँत लाग्छन् । नेपाल पर्यटन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ५ लाख माथि विदेशी भ्रमणका लागि आइपुग्छन् । उनीहरुको गन्तव्य चट्टानमाथिको चाँदीको घेरा हेर्ने हो । लेपन लागेको चिज कति सुन्दर हुन्छ है । ब्युटिपार्लरबाट बाहिर निस्किएकी युवती झैं । उनको सुन्दरतामा कति युवाहरू लभ पर्दा हुन् । व्यक्त हुँदैनन् । तर सुन्दर चिजलाई लेपन लाउनु पर्छ र ! आत्मिक सौन्दर्यमा लेपन लाएको हुन्छ र ! त्यसलाई त मनको आँखाले हेर्नुपर्छ, त्यसै पनि सुन्दर हुन्छन् । कलामा हामी सौन्दर्य खोज्छौं र ! त्यो त्यसै पनि सौन्दर्यको खानी नै हुन्छ । हैन र ! जीवनको पनि त सुन्दर र असुन्दर पक्षहरू छन् नि । रमेश सर भन्नुहुन्छ ‘अन्नपूर्णकै काखमा रमाइरहुँ जस्तो’ । सधैँ त्यसैको काखमा बस्नेहरू त्यसलाई सुन्दर देख्छन् होला र रमेश सर ? घान्द्रुकका गुरूङलाई पनि त्यसरी नै तानेको होला र ? उनीहरू हरेक बिहान अन्नपूर्णसँग पौठेजोरी खेल्दा हुन् । त्यही अन्नपूर्ण देखाएर व्यवसाय गर्दा हुन् । गोरेहरूलाई त्यही किनाएर उनीहरू धनी बन्दा हुन् । त्यहाँ त सुन्दरता रहेन । व्यवसाय भयो । व्यवसायमा सुन्दरता कहाँ रहन्छ र ? त्यो त सौदाबाजी भयो । सौदाबाजीमा सुन्दरता र कला खोज्नु मूर्खता मात्रै हो । हाम्रा पहाड, खोला, कुना, कन्दरा, भीर, पाखा सबै–सबै सुन्दर छन् । कलाले भरिएका छन् । त्यतिकै कविहरूले कविता, कथा, उपन्यास, नाटक लेखेका हुन र ! हामी कविको आँखाबाट काव्यको सुन्दरता खोज्छौं । कविले काव्यमा सौन्दर्यचेत थप्छन् । र त, सुन्दर रचनाहरूको जन्म हुन्छ । लोकले रूचाउने आख्यान त्यसै बढी बिकेको होइन नि । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लोकको मन–मनमा बसेको छ । त्यहाँ पनि त सुन्दरता छ । मुना, मदन पात्रमा पनि त कला छ, सुन्दरता छ । यदि त्यो सुन्दर नहुन्थ्यो भने पाठकले त्यति धेरै रूचाउँथे होला र ! पहिला त हेर्ने नजर नै सुन्दर हुनुपर्छ होला रमेश सरको जस्तो । नजर नै गिद्दे भए, आउँथ्यो होला र वाउ....। सुन्दर चिजको वर्णन गर्ने शैली निकै रमाइलो छ । कोही राम्री युवती देख्यो युवाहरूले भन्छन् वाउ...कस्ती राम्री । कुनै सुन्दर फूल देख्यो वाउ... । फूल त सबै सुन्दर हुन्छन् हैन र । वाउ भनिरहनु पर्छ र ! हाम्रा अन्य हिमाल पनि त सुन्दर छन् नि । अन्नपूर्ण मात्रै छन् र । कञ्चनजङ्गा, ल्होत्से, मकालु, सगरमाथा पनि त सुन्दर सुन्दर छन् नि हैन । सुन्दर देख्ने त नजर हुनुपर्छ । कविहरूले भनेजस्तो मनले सुन्दर देख्नुपर्छ । हैन, पहिला त आँखाले देख्ने बाह्यजगत् सुन्दर हुनुपर्छ हैन र । आत्मिक कुरा त अमूर्त न हो । ‘एब्स्ट्रयाक्ट’ । कसैलाई सुन्दर लाग्न सक्छ । कसैलाई नलाग्न सक्छ । त्यो त, हेराइको कोण न हो । अमूर्त पनि सुन्दर होला र ? । हरेक चिज ‘एब्स्ट्रयाक्ट’ छ । अन्नपूर्णलाई नै हेर्नुस् । रमेश सर तपाई अहिले घान्द्रुकबाट अन्नपूर्ण हेर्दै हुनुहुन्छ, त्यसैले सुन्दर छ । नजिक पुग्नुस् त कति अमूर्त छ । गहिराइमा पुगेर हेर्नुस् त झन् कति अमूर्त । हिउँले ढाकेका हुनाले अहिले सुन्दर छ । त्यसको भित्री पाटो खोतल्दै जानुस् त चट्टान । चट्टानमाथि पनि अर्को पत्रे चट्टान । अझै खोतल्दै जानुभयो भने के भेट्नु होला । हिउँ सकिएपछि त काला पहाड बन्ने होला नि । त्यहाँ सुन्दरता रहला र ? त्यहाँ गोराहरू फोटो खिच्न झुम्मिएलान् र ! वर्षेनी लाखौं पर्यटक अन्नपूर्ण हेर्न आइपुग्लान् र ! घान्द्रुकका गुरूङहरूले त्यसरी नै व्यवसाय चलाउलान र ! अन्नपूर्णसँग सौदाबाजी गर्लान् र ! भन्नुस् त रमेश सर । अनि तपाईं आएर यसरी नै वाउ ! भन्नुहोला र ? विद्यार्थीहरू ल्याएर गुरूङ गाउँको सुन्दरता देखाउनु होला र ! अन्नपूर्णलाई पदार्पण गराएर फोटो खिचाउनु होला र ! हो, त्यतिखेर काला पहाडलाई पनि गुरूङहरूले बेच्न सक्नुपर्छ । त्यो सुन्दरतालाई सौदाबाजी गरेर व्यवसाय गर्न सक्नु पर्छ । त्यो बेला व्यवसाय गर्ने पो गर्ने त ? जलवायु परिवर्तनले अन्नपूर्णलाई कालापहाड नबनाउला भन्न सकिन्न । शक्ति राष्ट्रहरू कार्वन उत्सर्जनमा होडबाजी गरिरहेका बेला अन्नपूर्णको सुन्दरतालाई टिक्न देलान् र ! हे अन्नपूर्ण तिमी यसरी नै सुन्दर भइराख । मोक्षका लागि फूल टिपेर भगवानलाई चढाउनेहरूले फूलको सुन्दरतालाई करौंती लाए जस्तै अन्नपूर्णलाई करौंती लगाउन शक्ति राष्ट्रहरू दिलोज्यान दिएर लागिरहेका छन् । तिम्रो अस्मितालाई नङ्ग्याउन लागिपरेका छन् ती शक्ति राष्ट्रहरु । तर त्यही शक्ति राष्ट्रका मानिसहरु तिम्रो लोभ्याउने अधर चुम्न हरेक दिन आइपुग्छन् । तिनीहरु नै हुन् जसले तिम्रो अस्मितामाथि दैनिक खेलवाड गरिरहेका छन् । र, तिनीहरु नै हुन् जसले तिमीसँग लुकामारी खेल्न सात समुद्र काटेर ताँतका ताँत आइरहेका छन् । तिनीहरु नै हुन् अस्मिता लुट्ने र तिम्रो अस्मितामाथि खेल्ने ? यो अवस्थामा तिमीले कति दिन टिकाउलाऊ तिम्रो सुन्दरता ? अनि कति दिन बिकिरहन्छौ, घान्द्रुङका गुरूङबाट ? धन्न तिमी बोल्दैनौं । सायोनारा गरे झैं लाग्छ । सधैँ नमनको शैलीमा । सायोनारा (जापानी भाषामा नमस्कार, अभिवादन भन्ने अर्थ खुल्छ)।