पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ मा निर्माण सुरु भएको ८ वर्षपछि मात्र स्वास्थ्य चौकी भवन सम्पन्न भएको छ । १४ महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदार पक्षको लापरबाहीका कारण ८ वर्षमा मात्र निर्माण सम्पन्न भई बिहीबार भवन हस्तान्तरण भएको छ । शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय मोरङका डिभिजन इञ्जिनियर श्यामकिशोर सिंहले स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदेन अध्यक्ष एवम् २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई भवन सम्पन्नताको कागजात हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै डीई सिंहले एमके निर्माण सेवा बबरमहल काठमाडौंले १४ महिनामा सम्पन्न गर्नुपर्ने भवन ८ वर्ष लगाएर मात्र सम्पन्न गरेकोमा १० प्रतिशत हर्जना गराइएको उल्लेख गरेका छन् । साथै उनले भवन निर्माणको १ वर्षसम्म कुनैपनि मर्मतसम्भारको काम गर्नुपर्ने देखिएमा त्यसका लागि निर्माण कम्पनीको ५ प्रतिशत (५ लाख रुपैयाँ) धरौटी डिभिजन कार्यालयले यथावत् राखिरहेको पनि जनाए । १ करोड ४० लाखको स्टिमेट बनेकोमा कम रकम कबोल गरी १ करोड १२ लाखमा एमके निर्माण सेवाले ठेक्का लिएपछि ०६७ जेठ १९ गते भवनको शिलान्यास भएको थियो ।

१ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगरपालिका प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोलासहितका जनप्रतिनिधि तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, स्वास्थ्य संयोजक मुरारी आचार्य, जग्गादाताहरु लगायतको उपस्थितिमा हस्तान्तरण भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख राईले ढिलै भएपनि भवन हस्तान्तरण भएपछि स्वास्थ्य चौकीले सञ्चालन गर्ने प्रसुती केन्द्र सहितका सेवाहरुमा सहजता हुने जनाए । स्थानीय दाताहरुले हालको मूल्यमा ४ करोड रुपैयाँ पर्ने १२ कट्ठा जग्गा दान गरेपछि त्यहाँ भवन निर्माण भएको हो । यस अघि स्वास्थ्य चौकी भवन निर्माणका लागि हालका जग्गा खोजबिन समिति संयोजक बाबुराम राईले ३ कट्ठा, सुनेहाङ सवेहाङले ३ कट्ठा, घनश्याम गिरी, श्रीनारायण ढकाल, केशवप्रसाद दाहाल र जद्धु शाहले १÷१ कठ्ठा गरी १० कट्ठा जग्गा स्वास्थ्य चौकीलाई रजिष्ट्रेशन गरिदिएका थिए । होमबहादुर गुरुङ, छविलाल अधिकारी, मानबहादुर थापा मगर, यज्ञप्रसाद ढुङ्गेल र टेकबहादुर गुरुङले समेत १०÷१० धुर जग्गा दिने सहमति गरेका थिए । सोही भवनसँग नजिक पर्ने ठाउँमा दाताहरुले थप जग्गा व्यवस्थापन गरेपछि एमबीबीएस डाक्टरसहितको अस्पताल निर्माणको योजनाको प्रक्रिया अघि बढेको छ ।