यासोक ।  पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा शिक्षकलाई तलब खुवाउन समस्या भएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय पाँचथरले शिक्षकहरुको विवरण गलत तरिकाले सङ्कलन गरी विभागमा पेश गरेका कारण समस्या देखा परेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कमलप्रसाद भट्टराईले बताए । गाउँपालिकामा शिक्षकलाई आवश्यक पर्ने तेस्रो चौमासिकको ८० लाख रकम अपुग भएको देखिएको छ । शिक्षकहरुको गलत विवरण केन्द्रमा पु¥याएका कारण यस्तो समस्या देखा परेको भट्टराईको भनाइ छ । गाउँपालिकाले तत्कालका लागि वित्तीय अनुदानबाट विनियोजित रकमबाट समस्या टारेको छ । रकम अभाव भएपछि कार्यालयले समस्या समाधानको लागि शिक्षा विभाग र मन्त्रालयमा कर्मचारी पठाइसकेको जनाएको छ । गाउँपालिकामा मावि, निमावि र आधारभूत गरी ३८ सामुदायिक विद्यालय छन् । शिक्षक दरबन्दी १ सय ३२ छ । राहततर्फ २७ जना शिक्षक कार्यरत छन् । छुट भएका शिक्षको दरबन्दी २० र राहततर्फ ४ शिक्षक छन् । उनीहरूको तलबका लागि मात्रै एक करोड, २७ लाख रकम भुक्तानी भइसकेको र बाँकी ८० लाख रकम अपुग भएको छ । शिक्षा विकास तथा समन्वय इकाइले केन्द्रमा शिक्षकहरूको रेकर्ड पठाउँदा दरबन्दी र राहत शिक्षकको कम सङ्ख्या पठाएका कारण रकम अपुग भएको गाउँपालिकाले जनाएको छ ।