रङ्गेली । प्रदेश १ सरकारले विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाडौंको वीर अस्पतालसँग सहकार्य गरी यसै वर्षदेखि एमडीको कक्षा सञ्चालनको तयारी गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विद्यार्थी भर्ना लिएर अस्पतालमा पठन–पाठनको तयारी गर्ने जानकारी दिए । ‘शिक्षण अस्पतालका रूपमा विकास गर्नका लागि आवश्यक विद्यार्थी लगायतका कुरामा वीर अस्पतालसँग सहमति भइसकेको छ ।’ मन्त्री घिमिरेले भने, ‘एमडी पढाइका लागि सबै विद्यार्थी वीर अस्पतालले पठाउने छ । कोशी अञ्चल अस्पताललाई प्रयोगात्मक कक्षका रूपमा ती विद्यार्थीले प्रयोग गर्नेछन ।’ मन्त्री घिमिरेका अनुसार यो वर्षको एमडीका लागि ५ देखि १० जना विद्यार्थी वीर अस्पतालले कोशी अञ्चल अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि पठाउने छ । अर्को वर्षदेखि एमबीबीएसको पढाइ सञ्चालन गरिने मन्त्रीले जानकारी दिए । त्यसै गरी सामाजिक विकास मन्त्रालयले ग्रामिण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबीबीएस अध्ययन गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसरी अध्ययन गर्ने चिकित्सकले कम्तिमा ५ वर्ष ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने प्रावधान मन्त्रालयले बनाएको छ ।

मन्त्री घिमिरेले पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयले चारओटा विधेयकको मस्यौदा तयार पारेको बताए । पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालय गठन भएदेखि हालसम्म भएको काम कारबाहीका बारेमा जानकारी गराइएको थियो ।