धरान । प्रवोध साप्ताहिक शुक्रबारबाट आठौं वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष प्रवेशको अवसरमा ब्लाष्ट दैनिकका कार्यकारी सम्पादकसहित तीनजना सम्मानित भएका छन् । गोर्खाको धरान शाखामा शुक्रबार कार्यक्रम गर्दै ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठसहित सञ्चारकर्मी निमा पोङ्सुवा र स्माइललाई सम्मानित गरेको हो । श्रेष्ठलाई पाँच हजार रूपैयाँ राशीको विष्णु–नन्द स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । प्रकाशक तथा प्रधान सम्पादक जमुना श्रेष्ठले बुबाआमा विष्णु श्रेष्ठ तथा नन्द श्रेष्ठको स्मृतिमा पुरस्कार स्थापना गरेकी हुन् । यसक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव प्रभात चलाउनेले ‘नेपाली मिडियाको अवस्था र अबको यात्रा’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्रमाथि भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले टिप्पणी गर्दै राज्यलाई निगरानी गर्ने तर्फ पत्रकारहरूले कलम चलाउनु पर्ने बताए ।

उनले भने, ‘पत्रकारिताको इतिहासतिर फर्किने हो भने दुईवटा सोचले पत्रकारिताको शुरूवात भएको छ । एउटा सूचना दिने र अर्को भ्रष्टाचार नियन्त्रण गर्ने ।’ उनले नेपालमा शासकवर्गहरूको चरित्रप्रति कलम चलाउने भन्दा पनि पार्टी पत्रकारिता हावी भएको दाबी गरे । अर्का टिप्पणीकार महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक हरिप्रसाद दाहालले जनताले चाहेजस्तो अहिले पनि नभएकाले त्यसतर्फ पत्रकारको कलम चल्नु पर्ने बताए । उनले नेपालको पत्रकारिता विज्ञापनका भरमा टिकेको बताए । नेपालमा भोल्टेयर, लेलिन, खुसवन्त सिंहजस्ता पत्रकारहरू जन्मिन आवश्यक रहेको बताए ।

त्यस्तै राजेन्द्र किरातीले हरेक विकृति, विसङ्गतिसँग राजनीति जोडिएको बताए । उनले अहिले पनि कर्पोरेट हाउसहरूले नै हालीमुहाली भइरहेको दाबी गरे । नेपाली पत्रकारिताले राज्यलाई नै घचघच्याउन पर्ने बताए । त्यसक्रममा प्रभात चिलाउनले नेपाली पत्रकारिता कता गइरहेको छ भन्ने अन्यौलता भइरहेको बताए । उनले राज्यको सेवासुविधा तथा पहुँचबाट टाढा रहेकाहरूको आवाजलाई ल्याउन नसकिरहेको टिप्पणी गरे । उनले अहिले पनि केन्द्रीय समाचारहरू नै ब्रोडसिटका मिडियाहरूमा आइरहेको बताए । मालिकको निर्देशनमा एजेण्डा सेटिङ हुने गरेको उनले बताए । कार्यक्रममा प्रदेश १ की सांसद् उमिता बराइली, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष खेम थपलिया, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका धरान शाखा प्रमुख मानबहादुर दियालीलगायतले बोलेका थिए । पत्रिका २०६८ सालदेखि स्थापित भएको पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलले बताए ।